पनौतीको बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर स्नान

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक-सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ ।

जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को बैठकले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहसँग आग्रह गरेको छ । साथै पनौती नगरपालिका-७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

नगरपालिका कर्यालयले सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ । ‘मेलामा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौं’, नगरप्रमुख भीम न्यौपानेले भने । मेला भर्न छिमेकी भारतबाट समेत तीर्थालु आउने गरेका छन् ।

मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। पनौती सङ्घीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ । मेलाका लागि नगरले गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिस्थित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ  । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *