‘लकडाउन गरिहाल्न आवश्यक छैन’

काठमाडौँ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले लकडाउन गरिहाल्नुपर्ने अवस्था नआएको बताएका छन् । मकालुखबरसँग कुराकानी गर्दै पुनले भने, ‘अत्तालिएर लकडाउन नै गरिहाल्नुपर्ने अवस्था आइसकेको छैन ।’

खासगरी पछिल्लो तीन दिनयता बढेको संक्रमणअनुसार नेपालमा पहिल्यै धेरै संक्रमित थिए भन्ने कुराकाे पुष्टि भएको पुनको भनाइ छ । ‘कोरोना भाइरस केही दिनयता ह्वात्तै बढेको छ । हामीले सोचेभन्दा बढी देखिएको छ । यसरी हेर्दा के नेपालमा ओमिक्रोन आउनुभन्दा अगाडि नै बढी संक्रमित थिए त भन्ने पनि देखिन्छ । अवश्य पनि धेरै रहेछन् । अहिले चाहिँ ओमिक्रोनबाट मान्छेहरू झस्किएर धेरै परीक्षण गराए र देखियाे ।’

कतिपय प्रजाति र अवस्थामा सधैँ लक्षण नदेखिने र परीक्षण गराए मात्रै देखिने तथ्य स्मरण गराउँदै उनले भने, ‘ओमिक्रोन देखिनुभन्दा पहिले नेपालको अवस्था यही रहेछ भनेर पनि पुष्टि भयो । पहिल्यै धेरै रहेछ भन्ने कुराकाे पुष्टि भयाे ।’

लकडाउन विशेष र तनावपूर्ण अवस्थामा मात्रै गर्नुपर्ने भनाइ पुनकाे छ । अहिल्यै लकडाउन आवश्यक नरहको औंल्याउँदै पुनले भने, ‘लकडाउन भनेको चाहिँ संक्रमितको संख्या अस्पतालहरूले धान्न नसक्ने स्थिति आए, एकपछि लगातार अर्कोको मृत्यु हुने र यस्तै बढी तनावपूर्ण अवस्था आए मात्रै गर्ने हो । यस्तो अवस्था अहिले आएको छैन । अहिले सामान्य रूपमा निषेधाज्ञा गरे हुन्छ । तर, पहिलेको जस्तै लामो लकडाउन भने गर्न आवश्यक छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *