टान अध्यक्षमा त्रिपक्षीय भिडन्त

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् ।

आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका तीनै जना प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । साथै उनीहरुले निर्वाचनमा माहोल आफ्नो पक्षमा पार्ट व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन् ।

टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा र बोधराज भण्डारी विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् । प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । होटल तथा ट्रेकिङ्ग व्यवसायमा तीनै जना अब्बल गनिन्छन् ।

पर्यटन क्षेत्रमा लामो अनुभव भएकाले नेतृत्वका लागि तीनै जनालाई उपयुक्त उम्मेदवारका रुपमा हेरिएको छ । तीनै जना पर्यटनमा परिचित अनुहार भएकाले यस पटकको निर्वाचनमा पनि निकै रसाकस्सी हुने विश्लेषण गरिएको छ । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ ।

टान निर्वाचनका लागि मिति घोषणा भएसँगै आकाक्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताए । कोभिड महामारीको तेस्रो लहरको त्रास रहेकाले पूर्वनिर्धारित कार्यक्रम हुन्छ कि हुँदैन यकिन भएको छैन । यद्यपि, निर्वाचनको माहोल बनाउन उम्मेदवार मैदानमा उत्रिसकेका छन् । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।

टानका पूर्वउपाध्यक्षसमेत रहेका बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै उनले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्णरुपमा लागेका बाँस्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए । सोलुखुम्बु निवासी बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेको छ ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाका समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय इतिहास बोकेको टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न टानको नेतृत्वमा आउन उम्मेदवारी दिएको उल्लेख गरे ।

अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटलसमेत सञ्चालन गरेका छन् । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उनले सुनाए । उनले भने, “निजी क्षेत्रबाट सञ्चालित टानको धुमिल हुन लागेको अस्तित्वलाई बचाउन र टानको गरिमालाई उँचो बनाउन मेरो भूमिका रहन्छ, निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउन जरुरी छ ।”

सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए । सुरूआतमा टिम्सको शुल्क टानसँग सहकार्य गरेर पर्यटन क्षेत्रमा कार्यान्वयन गर्ने र १० प्रतिशत रकम पर्यटन मजदुरको हितमा खर्च गर्ने सम्झौता भएको थियो । सम्झौताअनुरुप काम नभएको व्यवसायीको गुनासो छ ।

यता पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी भण्डारीले पनि टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् । स्नोइ होराइजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक भण्डारीले आफ्ना प्रतिबद्धता पनि सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् । उनले टान र टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धता पत्रको छपाइ खर्च मात्र हुने बताए । उनले निर्वाचनमा कुनै सदस्यको सदस्यता नवीकरण गरिदिने, फजुल खर्च नगर्ने, भेला र भाषणबाजी नगर्ने बताए ।

कुनै राजनीतिक दल र नेतासँग टानका विषयमा छलफल, सहमति या सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले पदयात्रा, पर्वतारोहण व्यवसायको प्रवद्र्धन, संरक्षण, विकास र बिस्तारका लागि पूर्णरुपमा प्रतिबद्धता जनाए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *