अर्थमन्त्रीसँग मेरो ट्युनिङ मिलेको छैन भन्नु गलत : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीसँग आफ्नो ‘ट्युनिङ’ मिलेको छैन भन्नु गलत भएको बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उनले बताएका हुन् । बैठकमा सांसद अमनलाल मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राज्य संयन्त्र नै लागिपरेको प्रसङ्ग सुनाउँदै उनले गभर्नर अधिकारीले ‘तपाइँहरुको ट्युनिङ मिलिरहेको छैन हो ?’ भनेर सोधेका थिए ।
जवाफमा गभर्नर अधिकारीले भने– ‘हामी व्यूरोक्रेसीमा काम गर्नेले मान्छे, संस्था र प्रणालीमा आधारित रहेर काम गर्छौं, तादाम्यता छैन भन्नु गलत हो । हामी निरन्तर छलफल गरेर निर्णय लिन्छौं ।’
बैठकमा बोल्दै गर्भनर अधिकारीले अहिलेको अर्थतन्त्रको अवस्था सेयर बजारले झल्काउने समेत बताए । सेयर बजार नराम्रो नभएको भन्दै गर्भनर अधिकारीले सेयर बजार पुँजी निर्माणको अधार भएको समेत बताए ।









