पृथ्वीनारायण शाहलाई सम्झिएर सेनाको टोली लाग्यो काठमाडौँ (तस्बिरहरू)

पोखरा । तीन सय औँ पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौँको हनुमाढोका दरबारसम्म पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणलाई सम्झिएर सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्रा सुरु गरेको हो ।

गोरखाको श्री रिपुमर्दन गणको संयोजनमा पदयात्रा सुरु गरिएको हो । टोलीमा पृथ्वीनारायण शाह कालिन पोसाक, टर्च र राष्ट्रिय झण्डा बोकेका सेनाहरू सहभागी छन् । तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई पछ्याउँदै एकीकरण पदमार्ग तयार गरिएको गणका सेनानी प्रकाश परियारले जानकारी दिए ।

‘यसलाई एकीकरण मार्ग भनिएको छ । व्यक्ति भन्दा पनि पहिले देशको अस्तित्व जोगाउन प्रयोग गरेको बाटो र सामग्री हाम्रा लागि निकै महत्त्वपूर्ण हुन्छन्,’ उनले भने, ‘त्यसैको सम्मानमा सेनाले यो कार्यक्रम आयोजना गरेको हो ।’ पदयात्रामा पृथ्वी नारायण शाह कालिन सजावटमा १० जना सेना छन् भने ३० जना हालको सेनाको पोसाकमा छन् ।

टोली गोरखा दरबार स्थित हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै धादिङको सल्यानटारमा त्यहाँको शिव दल गणलाई टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टोलीले नुवाकोट र नुवाकोटको टोलीले काठमाडौँलाई टर्च दिएपछि सोही टोली हनुमान ढोका पुग्नेछ ।

पृथ्वी जयन्तीकै अवसरमा गोरखा नागरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ भने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । सेनाले पछिल्ला वर्षहरूमा बर्सेनि एकीकरण पदयात्रा आयोजना गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *