गण्डकीमा गठबन्धनकै जित सुनिश्चित

पोखरा । २ वर्षअघिको निर्वाचनमा कांग्रेसको जुन अवस्था थियो, उस्तै अवस्था छ अहिले एमालेको । राष्ट्रियसभाबाट कांग्रेसका सुरेन्द्रराज पाण्डे र बृन्दादेवी आले बिदा भएपछि गरिएको निर्वाचनमा बाम गठबन्धनका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले जिते । समग्रमा अन्य प्रदेशभन्दा बलियो मानिएको कांग्रेसले राष्ट्रियसभा गुमायो । पुस ५ पछिको घटनाक्रमले एमाले एक्ल्याएर कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन बनेको छ । अहिले एमाले सबैतिर कमजोर बन्यो, गठबन्धन बलियो छ ।

गण्डकीमा राष्ट्रियसभा अन्तर्गत ३ पदमा निर्वाचन हुँदैछ । पद गुमाउनेमा माओवादीका २ र एकीकृत समाजवादीका १ जना छन् । नयाँ निर्वाचनका लागि माओवादीले गुमाएको दुई पद आफैले राखेको छ भने समाजवादीको एक पद कांग्रेसले लिएको छ । यहाँ गठबन्धनमा माओवादीका सुरेशकुमार आले र भुवन सुनार क्रमशः खुला र दलित कोटाका उम्मेदवार हुन् भने कांग्रेसबाट महिला कोटामा कमला पन्तले मनोनयन दर्ता गराएकी छिन् ।

उनीहरूलाई काउण्टर दिन एमालेले खुलामा पुण्यप्रसाद पौडेल, दलितमा अर्जुनकुमार सुनाम र महिलामा लीला थनेतलाई अघि सारेको छ । गण्डकीको मतभार हेर्दा एमाले भन्दा गठबन्धन निकै अगाडी छ । गठबन्धनसँग ३ हजार १ सय ९४ मतभार छ भने एमालेसँग २ हजार ५ सय ३८ मतभार छ । राप्रपाले एमालेलाई नै सहयोग गरे पनि ३६ मतभार थपिन्छ । उक्त मत जीतका लागि पर्याप्त छैन । प्रदेश सभातर्फ सबैभन्दा धेरै एमालेको मतभार छ । २७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७ सय २० मतभार छ । १२ सांसद रहेको माओवादीसँग ५ सय ७६ छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६-९६ मतभार छ । स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरूको मतभार १ हजार ४ सय १८ हुन्छ ।

६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ । गण्डकीको मतभार ५ हजार ९ सय ४० हुन्छ । प्रदेशसभामा १ सांसदको पद रिक्त छ ।

यस्तै, गठबन्धनबाटै सरकारमा सहभागी स्वतन्त्र सांसद राजीव गुरुङले समेत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अहिले बिदा हुन लागेका सांसदहरू दीनानाथ शर्मा, खिमकुमार विक र शान्तिकुमारी अधिकारी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *