राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी

धनगढी । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवारले मनोनयन दर्ताको गरेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका गरी ६ जना उम्मेदवारले प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

यस्तै गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेसको तर्फ खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले मनोनयन दर्ता गरेका छन् ।

तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन्। निर्वाचन कार्यालयले यही पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको निर्वाचन चिह्न प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ।

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगले बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *