कुराकानी

ओमिक्रोनसँग डराएर होइन, सावधानी अपनाएर बसौँ : डा. पुन

सरकारले नेपालमा पनि कोरोना भाइरसको पछिल्लो म्युटेसन ओमिक्रोनको जोखिम बढेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेको छ । आइतबार विज्ञप्ति नै निकालेर स्वास्थ्य सेवा विभागले मास्क लगाउने, भिडभाड नगर्ने, कोभिड पोजेटिभ देखिए आइसोलेसनमा बस्ने व्यवस्था गर्ने लगायत सतर्कता अपनाउन सुझाव दिएको छ । यसबारेमा मकालुखबरकर्मी समीक्षा गाहाले सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको रिसर्च विभागका प्रमुख डा. शेरबहादुर पुनसँग गरेको कुराकानी :-

ओमिक्रोनको जोखिम बढेको भनेर सरकारले पनि सतर्कता अपनाउन भनेको छ । कोरोनाको यो म्युटेसन कत्तिको खतरनाक छ, यसबाट डराउने कि सावधानी अपनाउने ?
ओमिक्रोन आफैमा डेल्टा भेरिएन्टभन्दा कमजोर देखिएको भनेर प्रमाणित भइसकेको छ । त्यसकारणले पनि अहिले कोरोनाको दोस्रो लहर जस्तो अवस्था नआउन सक्छ । पहिलेको जस्तो समस्या नआउला भन्ने अनुमानसम्म गर्न सकिन्छ । अर्को कुरा कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि जारी रहेकाले पनि हामीलाई यो भाइरससँग लड्न सहयोग गर्छ । त्यसले पनि दोस्रो लहरमा जस्तो अवस्था नआउला भन्न सकिन्छ ।

तर पनि यसो भनिरहँदा सतकर्ता भने अपनाउनै पर्दछ । अहिले पनि सबैजनाले खोप लगाएको छैन । खोप लगाएकाको तुलनामा नलगाएकाहरूलाई यसको जोखिम बढी हुने सम्भावना हुन्छ । ओमिक्रोनले ठूलो रूप नलिए हजारौँ लाखौँ जनाले खोप लगाउनेछन् । त्यसैले पनि दोस्रो लहरको जस्तो एकदमै डराउने अवस्था अलि हुँदैन कि भन्न सकिन्छ तर सतर्कता अपनाउने र खोपमा जोड दिने क्रम भने हुन जरुरी छ ।

सावधानी र सतर्कता चाहिँ कसरी अपनाउने त ?
सबैभन्दा पहिलो कुरा त यसबाट नतर्सिने नआत्तिने नै हो । यसबाट बच्न सतकर्ता अपनाउनुपर्छ । यसको सङ्क्रमण दर चाहिँ उच्च छ भनिएपनि डेल्टा जतिको खतरनाक भने होइन त्यसैले सतर्कता अपनाएर यसलाई परास्त गर्न सकिन्छ । यसले जटिलता ल्याउन सक्ने सम्भावना पनि तुलनात्मक रूपमा कम नै छ । यसो भनिरहँदा हामीले लापरबाही भने गर्नु हुँदैन । सकेसम्म समयमै खोप लगाउनुपर्‍यो, मास्क लगाउनुपर्‍यो । भिडभाड नगर्ने, त्यस्तो भिडमा नजाने, खोप लगाउने जस्ता उपायहरू अपनाउनुपर्‍यो । खोप लगाउनु भनेको सङ्क्रमणबाट शतप्रतिशत बच्नु होइन तर पनि सङ्क्रमण नै भएपनि जटिलता र मृत्यु हुनबाट बच्नु भने अवश्य हो । त्यसकारण स्वास्थ्यका मापदण्डहरू जति छन् ती अपनाएर सुरक्षित रहन सकिन्छ ।

युरोप अमेरिकातिर कोरोनाको सङ्क्रमणदर बढेका खबरहरू आइरहेका छन् । त्यस्तो अवस्था त नेपालमा पनि त आउला नि ?
युरोप अमेरिकातिर खोप नलगाउने, माक्स नलगाउने, एकाध मान्छेहरूको सङ्ख्या पनि छ । कतै माक्स लगाउन परेको भन्दै हडताल पनि गरेका थिए । खोप लगाउन नचाहेका खबरहरू पनि धेरै नै आए । माक्स अनि खोप नै नलगाउँदा त सङ्क्रमण हुने सम्भावना बढी रहने नै भयो । यसैकारण पनि ती देशहरूमा सङ्क्रमण बढेको हुन सक्छ । त्यसकारण अहिलेलाई नै त्यहाँको अवस्था र नेपालको अवस्थालाई दाँज्न अलि हतार हुन्छ । हाम्रोमा पनि त्यहाँको जस्तै अवस्था होला भन्न सकिन्न । विदेशमा हाम्रो तुलनामा परीक्षण पनि धेरै भइरहेको हुन्छ । कुनै ठाउँमा काम गर्ने मान्छेहरूलाई हप्तामा २-३ पटक नै पीसीआर गर्नुपर्ने नियम पनि हुन्छ । अनि धेरैले परीक्षण गर्दा धेरै सङ्क्रमित भेटिन्छन् । नेपालमा परीक्षण गरिहाल्ने क्रम तुलनात्मक रूपमा कम छ । त्यसले पनि सङ्ख्या कम देखिन सक्छ ।

मुख्य कुरा के हो भने ती देशहरूमा पनि लाखौँमा सङ्क्रमित भएतापनि अस्पतालमा भर्ना भएको समाचार आएका छैनन् त्यसकारणले सङ्क्रमणको लहर नै आएपनि तथ्याङ्कमा हेर्‍यो भने गम्भीर भएको वा अस्पतालै भर्ना हुनेको सङ्ख्या कम देखिन्छ । त्यसले गर्दा मानिसलाई अस्पताल जानुपर्ने अवस्था सिर्जना गर्दछ कि गर्दैन । त्यस्तो खालको धक्का दिन्छ कि दिँदैन भन्ने कुरा प्राथमिकतामा पर्दछ । त्यसैले अत्तालिनु भने हुँदैन सावधानी अपनाउनु पर्दछ ।

नयाँ-नयाँ भेरिएन्टको उत्पत्ति भइरहेको अवस्थामा सतर्कता र सावधानीका साथै जीवनशैलीलाई नै परिवर्तन गरेर अगाडी बढ्नुपर्ने कुरा आउने गरेको छ । यो कसरी सम्भव हुन्छ ?
आगामी दिनहरूमा भाइरस पहिलेभन्दा कमजोर भएर जाला भन्ने अनुमान लगाउन सकिन्छ । किनभने अहिलेसम्मका अनुसन्धानहरूले ओमिक्रोन डेल्टाजति खतरनाक नभएको पुष्टि गरेको छ । अर्कोतिर खोपलाई प्राथमिकतामा राखेर धेरै भन्दा धेरैलाई खोप लगाउन सकिन्छ । त्यतिन्जेलसम्म खोपले काम गरेन भने त्यसका लागि एन्टीबडी घट्यो भने खोप लगाउने अवसर पनि आउँछ । अहिले खोपहरू आउने र लगाउने क्रम पनि बढिरहेकाले यो भाइरसलाई परास्त गर्न सकिन्छ भन्ने आशा गर्न सकिन्छ । रुघाखोकी जस्तो फ्लु देखिरहन सक्ला तर हाम्रा लागि सबैभन्दा ठुलो कुरा अस्पताल हुन नपर्नु हो । अस्पतालमा बिरामीको चाप बढेन भने त्यसको क्षति पनि कम हुन्छ । पहिले डेल्टाले गर्दा अवस्था नाजुक भएको थियो । अक्सिजन पनि नपाएर मृत्यु भएका घटनाहरू थिए । अब त्यस्तो अवस्था आउने सम्भावना म चाहिँ कम देख्छु । यसले गर्दा भाइरस कमजोर हुँदै जान सक्छ । केही समय लाग्न सक्छ ।

खोप लगाएकाहरूमा पनि सङ्क्रमण भएको कसैकसैको मृत्यु भएको भन्ने पनि सुनिन्छ, के खोपले पनि काम नगरेको होला त ?
कुनै पनि खोप शतप्रतिशत भन्ने हुँदैन, कतिपयको शरीरमा खोप लगाएपनि एन्टीबडि नबन्न सक्छ । त्यसकारणले पनि खोप आउनुभन्दा अगाडी बहस हुन्थ्यो, यसको प्रभावकारिता कति, फाइजरको कति, एस्ट्राजेनेकाको कति भनेर कुराहरू हुन्थे नि त्यो व्यक्तिमा पनि केही हदसम्म भर पर्ने कुरा हो । त्यसकारणले शतप्रतिशत भन्ने नभएपनि ठुलो सङ्ख्यालाई बचाउन भने अवश्य नै खोपले सक्छ । अधिकांशमा यसले एन्टिबडी बनाउँछ नै । यसले व्यक्तिको इम्युन पावर बढाउँछ नै ।

ओमिक्रोनको सङ्क्रमण हुँदाका मुख्य लक्षणहरू चाहिँ कस्ता हुन्छन् ?
ओमिक्रोनको सङ्क्रमण हुँदा जिउ दुख्ने, खोकी लाग्ने, थकान महसुस हुने, घाँटी खसखस गर्ने, नाकबाट पानी आउने, नाक बन्द हुने, टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *