घरै नभएका मन्त्रीलाई ‘घर’ चलाउने जिम्मेवारी

पोखरा । असोज २५ गते बिनाविभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका तनहुँका सांसद डोबाटे विश्वकर्माले साढे २ महिनापछि आन्तरिक मामिला मन्त्रालयकाे जिम्मेवारी पाए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफैँसँग भएको आन्तरिक मामिला मन्त्रालय छुट्याएर डोबाटेलाई दिए । बिनाविभागीय हुँदा डोबाटे मुख्यमन्त्री कार्यालयभित्रैको एउटा कोठामा नाम टाँगेर बसेका थिए ।

मन्त्रालयको जिम्मेवारी पाएपछि पनि उनले छुट्टै भवन पाएका छैनन् । डोबाटे सरकारी क्वार्टरसमेत नपाएर भाडाको घरमा बसिरहेका छन् । आन्तरिक मामिला मन्त्रालयलाई बोलिचालीको भाषामा गृह मन्त्रालय भनिन्छ । गृहको प्रमुख काम घरभित्रको शान्ति सुरक्षा कायम गर्नु हो । तर, शान्ति सुरक्षाका लागि प्रदेश सरकारसँग आफ्नै प्रहरी संरचना छैन ।

०७७ साल भदौ ११ गते प्रदेश प्रहरी ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेकाे छ । संघ सरकारले प्रहरी समायोजन नगरिदिँदा प्रदेशभित्रको शान्ति सुरक्षामा उल्झन सिर्जना भएको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई अघिल्लो साता पोखरा भ्रमणका क्रममा पत्रकारले प्रहरी समायोजनबारे प्रश्न गरेका थिए ।

उनी विस्तारै हुने भन्दै पन्छिए । डोबाटेले आन्तरिक मामिला मन्त्रालय सम्हाले पनि संघ मातहतकै प्रहरीसँग मिलेर काम गर्ने बताएका छन् । ‘आफ्नो प्रहरी भएको भए सजिलो हुन्थ्यो,’ उनले भनेका छन्, ‘मन्त्रालय पाइहालियाे, शान्ति सुरक्षाका लागि संरचना छैन । संघले अधिकार दिन आनाकानी गर्दा संविधानको व्यवस्थासमेत कार्यान्वयन हुन पाएन ।’

उनी अहिले पनि मुख्यमन्त्री कार्यालयभित्रैको एउटा कोठाबाट कार्यालय चलाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *