राष्ट्रिय सभा निर्वाचनमा तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक

काठमाडौँ । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको हाे ।

सत्ता साझेदार दलहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसद्को अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने बझिएको छ । यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो । सत्ता साझेदार दलहरू गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो ।

आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *