राष्ट्रियसभा चुनावका लागि एमालेले पठायो ९ जनाको नाम

पोखरा । माघ १२ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा ३ वटा पद फागुनमा रिक्त हुनेवाला छ । त्यसैले उक्त पदपूर्तिका लागि पुस २० गते मनोनयनको मिति तोकिएको छ । गण्डकीमा विशेषगरी एमाले, कांग्रेस र माओवादी पहिलो, दोस्रो र तेस्रो दल छन् । त्यसो त, जनता समाजवादी, जनमोर्चा लगायत पार्टी पनि यहाँ अस्तित्वमा छन् ।

४ वर्ष कार्यकाल सकेर बिदा हुँदै गरेका ३ पदका लागि एमालेले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । अघिल्लो दुई चुनावमा बाम गठबन्धनको नेतृत्व गरेको एमाले पार्टी विभाजनपछि एक्लै चुनावी मैदानमा झर्दै छ । एमालेसँग रहेका पूर्व साझेदारहरूको नेतृत्व अहिले कांग्रेसले गर्ने देखिएको छ । यद्यपि टुंगो भने लागेको छैन ।

पहिलो पटक निर्वाचन हुँदा गण्डकीबाट सबै पदम बाम गठबन्धनले जितेको थियो, ३ बाहेक । सुरेन्द्र पाण्डे, बृन्दा राना र प्रकाश पन्थ कांग्रेसबाट जितेका उम्मेदवार हुन् । पाण्डे र रानाको पद २ वर्षअघि नै गइसकेको छ । उनीहरूको ठाउँमा माओवादीका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भए । श्रेष्ठ माओवादी र न्यौपाने एमाले नेता हुन् । बाम गठबन्धनका कारण कमजोर माओवादीले पनि चुनाव जित्यो ।

पुस ५ र त्यसपछिका घटनाक्रमले परिस्थिति फेरिएको छ । एमालेसँग रहेका माओवादी र अन्य बाम पार्टीहरू अलग्गिएका छन् । एमाले नै चोईट्याएर माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेका छन् । गण्डकीमा नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीबाट एकजना गाउँपालिका उपाध्यक्ष छिन् भने अरू पदमा खुलेका छैनन् । अहिले रिक्त हुन लागेको सांसद पदमध्ये दिनानाथ शर्मा र खिमकुमार विक माओवादीका हुन् भने शान्तिकुमारी अधिकारी एकीकृत समाजवादीका हुन् ।

एमालेले उक्त पदका लागि ३-३ जनाको नाम सिफारिस गरेको छ । खुला कोटाका लागि कास्कीका पुण्य पौडेल, गोरखाका प्रेम गुरुङ र बागलुङका लीलबहादुर थापाको नाम सिफारिस भएको छ । महिला कोटामा गोरखाकै सम्झना देवकोटा, नवलपुरकी लीला थनेत र कास्कीकी मिनाकुमारी गुरुङको नाम छ । दलित कोटामा गोरखाका कृष्ण नेपाली, बागलुङका गोविन्द नेपाली र मनाङकी शान्ता माया परियारलाई सिफारिस गरिएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । कांग्रेस र अन्य पार्टीहरूले भने उम्मेदवार खोजी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *