यी हुन् सन २०२१ का १२ महत्त्वपूर्ण विश्व घटना

काठमाडौँ । सन २०२१ सकिएर आजबाट सन २०२२ लागेको छ । सन २०१९ को अन्तदेखि अहिलेसम्म कोभिड-१९ को त्रासदीबाट दुनियाँले मुक्ति पाउन सकेको छैन । कुनै न कुनै रूपमा कोभिड-१९ नै मूल विषय भएर आएको छ । यद्यपि, कोभिड-१९ बाहेकका घटनाहरू पनि विश्वमा २०२१ मा सम्झनलायक घटेका छन् ।

  • यी हुन मकालुखबरले तयार गरेका सन २०२१ का महत्त्वपूर्ण १२ घटनाहरु :-

१. क्यापिटल हिल आतंक
सन २०२१ को पहिलो हप्तामै अमेरिकालाई तर्साउने घटना घट्यो । जो बाइडेनसँग चुनाव हारेर धाँधली भएको आरोप लाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकहरूले अमेरिकाको प्रशासनिक भवन क्यापिटल हिलमा आक्रमण गरे । जनवरी ६ को उक्त घटना बाइडेन राष्ट्रपति भएको आधिकारिता दिने प्रमुख चरण थियो । आक्रमणमा ५ जनाले ज्यान गुमाए । डोनाल्ड ट्रम्पलाई फेसबुक देखी ट्विटर लगायतका अमेरिकी सामाजिक सञ्जालहरूले ब्लक गरे ।

२. म्यानमारमा सैन्य कू
फेब्रुअरी १ मा म्यानमारको सैनिकले संसद् भंग गर्‍यो । लोकतान्त्रिक नेतृ आङसाङ सूचीलाई बन्दी बनायो । धेरै नेता कार्यकर्ताहरु पक्राउ गर्‍यो । जनताले हजारौँ सङ्ख्यामा सडकमा आएर आन्दोलन गरेर सयौँ सहादत भएपनि सेनाले अहिलेसम्म शान्तिपूर्ण शक्ति हस्तान्तरण गरेको छैन ।

३. नासाको रोभर पहिलोपटक मंगल ग्रहमा
फेब्रुअरी १८ मा नासाले रोभर मंगलग्रहमा अवतरण गराउन सफल भयो । सन २०११ देखीको प्रयास सफल भएर अवतरण सम्भव भएको थियो ।

४. चीनको आफ्नै अन्तरिक्ष केन्द्र
जुन १७ मा चीनले तीनजना अन्तरिक्ष यात्रु अन्तरिक्षको आफैले बनाउँदै गरेको केन्द्रमा पठायो । अमेरिका, रुस, जापान र युरोपियन युनियनको साझा अन्तरिक्ष केन्द्रमा चीनलाई नसमेटिएपछि चीनले आफ्नै अन्तरिक्ष केन्द्र बनाएर आफ्ना तीन यात्रु पठाएको थियो । यस्तै यी तीन यात्रु फर्केर आएपछि चीनले ४१ वर्षकी अर्की महिना अन्तरिक्ष यात्रु सहित तीन नयाँ यात्रु पठायो । ४१ वर्षकी अन्तरिक्ष यात्रु वाङ यापिङले नोभेम्बर ७ मा स्पेस वाक गरिन । उनी स्पेस वाक गर्ने प्रथम चिनियाँ महिला समेत भएकी छिन ।

५. चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी
जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीले एक सय वर्ष गाँठको उपलक्ष्यमा वृहत् उत्सव आयोजना गर्‍यो । सिले सम्बोधन गरेको कार्यक्रममा कोभिड-१९ को कारण देखाएर विदेशी अतिथिहरू बेलाइएको थिएन । सम्बोधनमा सिले चाँडै ताइवान चीनसँग जोडिने बताएका थिए । ताइवानलाई चीनबाट अलग गराउने शक्तिलाई चिनियाँ जनताले मुख रक्ताम्मे पार्ने सिले धम्की दिएका थिए ।

६. बेन्यामिन नेतान्याहु युगको अन्त्य
सन २००९ देखी निरन्तर इजरायलको राष्ट्रपति भएका बेन्यामित नेतान्याहुले दुई भोट अभावमा इजरायलको नयाँ प्रधानमन्त्री हुन पाएनन् । उनले जुन १३ मा सत्ताबाट बाहिरिनु पर्‍यो । उनीपछि अहिले विभिन्न दलहरूको साझा गठबन्धनको तर्फबाट नाफ्ताली बेनीत इजरायलका नयाँ प्रधानमन्त्री छन् । रोचक कुरा बेनीत कुनै बेला नेतान्याहुले नै राजनीतिमा ल्याएका थिए ।

७. तालिबानको दोस्रो सत्तारोहण
अगस्ट १५ मा तालिबानले पुनः अफगानिस्तानको राजधानी काबुल कब्जा गर्‍यो । सोही दिन तत्कालीन राष्ट्रपति असरफ घानीले देश छोडेर हिँडे । अमेरिकी फिर्तीको तयारी हुँदै गर्दा तालिबानले काबुल कब्जा गरेको हो । रोचक कुरा तालिबानले तीन महिना भित्रमा मात्रै काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरहरूले प्रारम्भिक अनुमान गरेका थिए । हठात् तालिबानको कब्जा भएपनि अमेरिकी लगायतका देशहरूले आफ्ना नागरिक हवाई मार्गबाट ल्याएका थिए । नेपालीहरू भारतीय तथा अमेरिकी सहयोगमा नेपाल आएका थिए ।

८. अकस सम्झौता
सेप्टेम्बर १५ मा फ्रान्सलाई चकित पार्दै अमेरिका, बेलायत र अस्ट्रेलियाले अकस नामक नयाँ सुरक्षा साझेदारीमा हस्ताक्षर गरे । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले गरेको सम्झौतामा अस्ट्रेलियालाई आठ वटा आणविक शक्ति भएका सबमरिन बनाउन सहयोग गर्ने कुरा प्राथमिकतामा छ । चीनसँग अस्ट्रेलियाको तनाव बढेपछि यस्तो सम्झौता भएको थियो । तर, आफूलाई नसोधिएको भन्दै फ्रान्सले अमेरिका तथा अस्ट्रेलियाबाट राजदूत फिर्ता बोलाएर आपत्ति जनाएको थियो ।

९. कोप २६ बाट आएका नयाँ जलवायु प्रतिबद्धता
संयुक्त रास्ट्रसंघको जलवायु सम्मेलनको २६ औँ संस्करण अक्टोबर ३१ देखी नोभेम्बर १२ सम्म भयो । अमेरिकी राष्ट्रपति बाइडेन देखी पूर्व राष्ट्रपति ओबामा सहभागी सम्मेलनमा सि र पुटिन भने सहभागी भएनन् । धेरै देशले कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरे । नेपालले सन २०४५ सम्म गर्ने भन्यो भने भारतले सन २०७० सम्मको लक्ष्य सार्वजनिक गर्‍यो ।

१०. बाइडेन र सिको विलम्ब बैठक
अमेरिका र चीनको नयाँ शीत युद्ध सुरु भएको भनेर व्याख्या गरिएको सन २०२१ मा यी दुई देशका दुई शक्तिशाली राष्ट्रपतिले धेरै ढिलाइ गरेर मात्रै कुराकानी गरे । राष्ट्रपति भएर चुनिएको १० महिनापछि मात्रै बाइडेनले सिसँग दुई जनाको बैठक गरे । नोभेम्बर १५ मा भएको बैठकमा बाइडेनले चीनको मानव अधिकारको कुरा उठाए । सिले अमेरिकालाई ताइवान मुद्दामा खेल्नु आगोसँग खेल्नु भएको चुनौती दिए ।

११. मर्केल युगको अन्त्य
डिसेम्बर ८ मा आफ्नो १६ वर्ष लामो चान्सलर पदबाट जर्मनीकी चान्सलर एंगेला मर्केल बिदा भइन । उनी सन २००५ बाट युरोपको सबैभन्दा ठुलो तथा विश्वको चौथो ठूलो अर्थतन्त्र जर्मनीको एकछत्र सत्तामा थिएन । मर्केल बाहिरिएपछि उनको दलले चान्सलर बनाउन पाएन । ओलाफ सोल्ज नयाँ चान्सलर भएर आए । रोचक कुरा ओलाफ सोल्ज मर्केलको क्याबिनेटमा भाइस चान्सलर भएर काम गरेका थिए ।

१२. बाइडेनको डेमोक्रेसि समिट
डिसेम्बर ९ र १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलोपटक विश्वमा डेमोक्रेसि समिटको नाममा भेला गरे । भर्चुअल भेलामा नेपाल सहित ११० सहभागी थिए । चीनलाई नबोलाइएको भेलामा ताइवानलाई भने बोलाइएको थियो । दक्षिण एसियाबाट नेपाल, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलाई निमन्त्रणा थियो । पाकिस्तानले अन्तिम समयमा आएर सहभागिता जनाएन । चीन र रुसलाई एक्ल्याउन गरिएको भनिएको समिटमा चीनको बलियो साझेदार पाकिस्तानले भाग लिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *