तारागाउँ विकास समितिको जग्गा सरकारको नाममा ल्याइने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री आलेले तारागाउँ विकास समितिअन्तर्गतको १४८ रोपनी जग्गा सरकारको नाममा ल्याइने बताएका हुन् । उनले जग्गा फिर्ताका लागि समितिले यसअघि दिएको निर्देशन कार्यान्वयन गर्ने उनले बताए ।

त्यस्तै उनले पोखरा विमानस्थल सञ्चालनका लागि देखिएका अवरोध हटाइने उल्लेखसमेत गरे । भैरहवा विमानस्थलमा परीक्षण उडानको मिति सारिएकोप्रति दुःख व्यक्त गर्दै मन्त्री आलेले जनवरी १५ भित्र परीक्षण उडान गर्ने दाबी गरे । उनले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको र निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने बताए ।

बैठकमा समितिका सदस्य एवं पूर्वप्रधान मन्त्री माधवकुमार नेपालले प्राथमिकताका आधारमा विकास आयोजनाहरूलाई अघि बढाउन उपयुक्त हुने बताए । निर्माणमा देखिँदै आएको ढिलासुस्ती, बेवास्ता, गुणस्तरहीन र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले गौतमबुद्ध विमानस्थलमा नियमित विद्युत् आपूर्तिको सुनिश्चितता गर्ने तथा अन्य कमीकमजोरीमा सुधार गरी यथाशीघ्र विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *