हाम्रो आन्दोलनले एमसीसी पारित हुन सकेको छैन : प्रकाण्ड

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पार्टी प्रशिक्षणका लागि सुर्खेतमा पुगेका छन् ।

मंगलबार बिहान सुर्खेतमा पुगेका प्रकाण्डलाई उनका कार्यकर्ताले फूलमाला लगाएर स्वागतसमेत गरेका छन् ।

सहभागीहरूलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताले नेकपाबाट कुनै नयाँ विकासको अपेक्षा गरेको बताउँदै उक्त अपेक्षा एकीकृत जनक्रान्तिको माध्यमबाट आफ्नो पार्टीले मात्र पूरा गर्ने दाबी गरे ।

प्रवक्ता प्रकाण्डले भने‚ ‘नेपाली जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादभन्दा अर्को विकल्प केहि छैन, एमसीसीजस्तो राष्ट्रघाती सम्झौता नेपालमा थुप्रिरहेका छन् । नेपालमा अखडा बनाउन अमेरिकाले चाहिरहेको बेला नेपालका दलालहरू त्यसैमा लागेका छन् ।’

त्यस्तै प्रकाण्डले आफ्नो पार्टीले गरेको लगातार रुपमा गरेको आन्दोलनले एमसीसी पारित हुनबाट रोकिएको दाबीसमेत गरे । उनले भने‚ ‘हाम्रो आन्दोलन नभएको भए नेपाली दलालले पहिला नै एमसीसी पारित गरिसक्ने थिए ।’

त्यस्तै प्रकाण्डले नेपालमा २०४६ सालदेखि नेपाली जनतालाई दुःख दिने संसदीय व्यवस्था सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिए पनि स्थानीय चुनावले जनताको समस्या समाधान कुनै पनि हालतमा समाधान हुन नसक्ने बताए ।

साथै प्रकाण्डले नेकपाको काँधमा ऐतिहासिक जिम्मेवारी आएको भन्दै त्यो जिम्मेवारी वहन गर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताए । अबको एक हप्ता प्रकाण्डको बसाइ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर‚ सुर्खेतमा विभिन्न राजनीतिक भेटघाटका साथै आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *