मनाङ प्रशासनले पर्यटकलाई भन्यो- गाइड लिएर मात्रै आउनू

पोखरा । मनाङमा यतिबेला हिउँ परिरहेको छ । केही क्षेत्रमा घाम लागेपनि अधिकांश भागमा हिमपात भइरहेको मनाङ प्रशासनले जनाएको छ ।
मनाङ सदरमुकाम चामे बजार तथा आसपास तथा नासों गाउँपालिकाको तिल्चे क्षेत्रमा हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । हिमपात सँगै पर्यटकलाई सचेत रहन उनले आग्रह गरेका छन् । ‘सबै ठाउँमा होइन, केही ठाउँमा घाम लागिरहेको छ । अधिकांश भने हिमपात छ । चिसो बढेको छ,’ उनले भने, ‘पर्यटकहरू गाइड विना आउनु हुँदैन । मौसमको अवस्था बुझेर मात्रै निस्किनु होला ।’
चिसो बाट जोगिन नागरिकलाई उच्च सतर्कता अपनाउन समेत प्रशासनको आग्रह छ । यो घुम्ने सिजन नभएकोले पर्यटकले विशेष सावधानी अपनाउनुपर्ने उनले बताए । ‘घुम्ने बेला यो होइन । यदि कसैलाई घुम्नै मन छ भने बिचार पुर्याउनुपर्छ,’ उनले भने । हिउँ परेपछि किसानहरू भने बाली सप्रिने आसमा खुशी छन् ।








