चेचेन गणतन्त्रका प्रमुखको पुटिनलाई सल्लाह- युक्रेनलाई रुसमा गाभौँ

काठमाडौँ । चेचेन गणतन्त्रका प्रमुखले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमाथि हमला गरेर रुसमा गाभ्न आग्रह गरेका छन् । सन् २०२१ को अन्तिम पत्रकार सम्मेलन गर्दै चेचेन गणतन्त्रका प्रमुख रामजान क्यादिरोभले यस्तो बताएको रुसको सरकारी समाचार पोर्टल आरटीले जनाएको छ ।

समाचारमा रुसमाथी विदेशी शक्तिहरुको शर्तले शासन गर्न नसक्ने भन्दै उनले आफू पुटिन भएको भए युक्रेनमा हमला गरेर रुसमा मिलाउने थिएँ भन्ने अभिव्यक्ति दिएको उल्लेख छ । उनले भनेका छन, ‘मेरो गहिरो संकल्प के छ भने यदि युक्रेनी राष्ट्रपति जेलेन्सकी र उनको टिमले यस्तो व्यवहार गर्छ भने युक्रेन हाम्रो देश रुसमा मिसिनुपर्छ । युक्रेनी नागरिक हाम्रै मान्छेहरू हुन । यो मेरो धारण हो ।’

उनले आफूलाई निर्देशन हुने हो भने युक्रेनलाई हमला गर्न तयार भएको समेत बताएका छन् । युक्रेनको सिमानामा लाखौँ सैनिक तैनाथ गरेको रुसले युक्रेनलाई हमला गर्नेबारे विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आइरहेको बेलामा चेचेन गणतन्त्रका प्रमुखको यस्तो वक्तव्य आएको हो ।

सम्भावित रुसी हमालाको बारेमा पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनको समेत भिडिओ कन्फ्रेन्सबाट कुराकानी भएको छ । कुराकानीमा पुटिनले पूर्वसोभियत संघका सदस्य देशहरूमा नाटोका सैनिक प्रवेश गर्न नहुने पुरानो अडान दोहोर्‍याएका छन् भने बाइडेनले युक्रेनमाथी हमला भएमा कडा आर्थिक कारबाही गर्ने बताएका छन् ।

तर, रुसले हमला गरेमा आफ्ना सैनिक पठाएर युक्रेनलाई जोगाउन भने नसक्ने अमेरिकी तथा बेलायती अधिकारीहरंले सार्वजनिक रुपमा बताउँदै आएका छन् । युक्रेन नाटो सदस्य राष्ट्र नभएकाले त्यो सम्भव नभएको उनीहरूको भनाइ छ । युक्रेन भने नाटोमा जोडिन धेरै वर्ष अगाडिबाट प्रयास गरिरहेको छ ।

https://www.rt.com/russia/544492-annex-ukraine-chechnya-kadyrov/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *