धनगढी विमानस्थल स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन

काठमाडौँ ।  कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरेको हो ।

विमानस्थलका लागि २५० बिघा  जग्गा अधिग्रहण गर्ने र  धावनमार्ग विस्तार गरी २५ सय मिटर पुर्‍याउने लक्ष्य राखिएको छ ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ ।

प्राधिकरणले सुदूरपश्चिमका बाँकी नौ विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ । डोटी विमानस्थलका लागि १८ करोड ६१ लाख, साँफेबगर विमानस्थलका लागि ३ करोड, कमलबजार विमानस्थलका लागि ३ करोड, महेन्द्रनगर विमानस्थलका लागि २ करोड ५१ लाख, बैतडी विमानस्थलका लागि १ करोड ५० लाख, दार्चुला विमानस्थलका लागि २ करोड ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख, बाजुरा विमानस्थलका लागि १८ लाख र डडेल्धुरा विमानस्थलमा सम्भाव्यता अध्ययनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *