ओलीले नरुचाएका ‘झापा आन्दोलन’का अगुवा

झापा । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्दै गर्दा केही पर्ने ठानिएका नाम परेनन् । केही ‘पर्नुपर्ने कुनै कारण नभएका’हरू परे भनेर एमालेकै नेताहरूले असन्तुष्टि जनाउने गरेका छन् । पर्नुपर्ने ठानिएका तर नपरेका यस्तै नेतामध्येका एक हुन् झापाका नरेश खरेल ।

कम्युनिस्ट राजनीतिमा ठूलो योगदान गरेका खरेल केपी शर्मा ओलीको सूचीमा नपरेपछि एमालेभित्रै असन्तुष्टि जनाउने नेताहरू पनि छन् । कम्युनिस्ट आन्दोलनमा लामो समय सक्रिय भएर पनि कम मात्र जिम्मेवारी पाउने नेतामध्येका एक हुन् झापाका नरेश खरेल । २०१० साल माघ १० गते जन्मिएका खरेलले १७ वर्ष जेल जीवन बिताएका छन् ।

केपी ओलीसँगै ‘झापा आन्दोलन’बाट राजनीतिक यात्रा तय गरेका उनी हालै चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा केन्द्रीय सदस्यको सूचीमा परेनन् । यसअघि एमालेको केन्द्रीय कमिटी सदस्य रहेका खरेललाई ओलीले केन्द्रीय कमिटीको सदस्य बनाउन उचित ठानेनन् जबकि ओलीको रोजाइमा झापाकै मेडिकल र मदिरा व्यापारी दुर्गा प्रसाईँ केन्द्रीय सदस्यको सूचीमा अटाए ।

पछि उनलाई यो सूचीमा अटाउन नसके पनि अर्को मनोनयनमा नाम पर्ने भनेर फोन आयो । तर‚ पछिल्लो मनोनयनमा पनि आफू नअटाउँदा दुःख लागेको बताउने उनी नपर्नुको कारण पार्टीभित्र आर्थिक हैसियतको हालीमुहाली हुनु रहेको बताउँछन् । अहिलेको राजनीतिमा सम्पन्नता जोडिएको खरेलको निष्कर्ष छ ।

कुनै बेला खरेल २५ बिगाहा जमिनको मालिकका छोरा थिए । आर्थिक रूपमा बलियो हुँदासम्म आफूलाई महत्त्व दिने गरेको भए पनि सर्वस्व हरणपछि अहिले आर्थिक रूपमा कमजोर भएपछि सदस्यसम्ममा पनि नपत्याएको उनी गुनासो गर्छन् । ‘म सर्वस्व हरण भएको मान्छे हुँ,’ उनले भने, ‘अहिले मसँग केही छैन । मलाई प्राथमिकतामा पारिएन ।’

झापा आन्दोलनका सहयात्री मामा भाञ्जा

लामो समय जेल परेर छुटेका खरेल र ओलीबीचको सम्बन्ध अहिले पनि मामा भान्जाको हो । ओलीले अहिले पनि खरेललाई मामा भनेर बोलाउँछन् ।

खरेल झापा आन्दोलनमा शुरुबाटै गाँसिएका नेता हुन् । उनी झापा आन्दोलनमा विद्रोहीको रूपमा १३ जनाको कोर्डिनेसन कमिटीमा थिए‚ जसको सचिव राधाकृष्ण मैनाली थिए । एकीकृत कम्युनिस्ट पार्टी बनाउने अभियान त्यही बेला अर्थात् २०२८ सालदेखि सुरु भएको थियो ।

राधाकृष्ण मैनाली (आरके मैनाली) सिपी मैनाली, बिरेन राजवंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, केपी शर्मा ओलीसहित नरेश खरेल पनि त्यही झापा आन्दोलनको नेतृत्व गर्ने मध्येका हुन् । झापा आन्दोलनको उद्देश्य छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा गणतन्त्र स्थापना गर्ने भन्ने रहेको उनी सुनाउँछन् ।

झापा आन्दोलनमा उत्कर्षमा पुगेर अघि बढ्दै गर्दा तत्कालीन पञ्चायत सरकारले पाँच जनाको हत्या गरेको थियो । भूमिगत रूपमा रहेका बेला गिरफ्तार गरेर प्रहरीको हिरासतमा रहेका मध्ये पाँच जनाको हत्या गरेपछि झापा आन्दोलनलाई ठूलो धक्का लागेको उनी सम्झन्छन् ।

वि.सं. २०३० साउन २० गते पक्राउ परेका उनले विभिन्न जेलमा १७ वर्ष बिताए । जेलमा झापा आन्दोलनको अग्रमोर्चामा रहेका आरके मैनाली, नारद वाग्ले, लिला कट्टेल, हर्क खड्का पनि सँगै थिए । उनीहरू पक्राउ पर्दै गर्दा केपी ओली भने मोरङमा माधव नेपालको सम्पर्कबाट नैनीताल पुगेको उनले बताए ।

नैनीतालबाट फर्किएर ओली विराटनगर पुगेका थिए । त्यो बेलासम्म आरके मैनालीसहित नरेश खरेललगायत पक्राउ परिसकेका थिए । उनीहरू पक्राउ परेपछि झापामा चन्द्र डाँगी मारिएका थिए । त्यसपछि ओली विराटनगरबाट रौतहट गएकोमा त्यहीँबाट मोहनचन्द्र अधिकारी र ओली पक्राउ परेका थिए । झापा आन्दोलनमा सँगै भए पनि ओली आफूभन्दा पछि मात्र पक्राउ परेको उनले बताए ।

जेलमा केपी ओलीसँगै

झापाबाट पक्राउ परेका खरेलसहितका नेता र रौतहटबाट पक्राउ परेका ओलीसहितका नेताहरूको भेट भने केन्द्रीय कारागार, नखु जेलमा भयो । लामो समय जेल बसेका ओली र खरेलका बिचमा मामा भान्जाको सम्बन्ध छ । ‘त्यो बेला हामीमा स्वार्थ धेरै थिएन, सबै मिलेर काम  गर्थ्यौँ,’ नरेश भन्छन्, ‘पछिल्लो समय हामी स्वार्थी भएर गयौँ ।’

जेल जीवनमा पनि मामा-भान्जा एक अर्काका सहयोगी थिए । मामा(खरेल) र भान्जा(ओली) दुवै जना बिरामी भइरहने मध्येका थिए । ओली बिरामी पर्दा खरेलले सघाउने, खरेल बिरामी पर्दा ओलीले सघाउने गर्थे अरूको साथ त हुने नै भयो ।

‘जेल बसेका मध्ये सबैभन्दा सहयोगी राधाकृष्ण मैनाली थिए, मैनालीले आर्थिक रूपमा पनि सघाउँथे,’ खरेल सम्झन्छन् । ओलीलाई त्यो बेलादेखि नै अल्सर रहेको र आफूलाई  टिबी भएको नरेशको भनाइ छ । २०३० साउन २० गते जेल परेका खरेल २०४६ साल पुस १९ गते  जेलबाट छुटे । त्योभन्दा पहिला नै ओली जेलबाट छुटिसकेका थिए ।

जेल फोड्ने अभियानका नाइके

झापा आन्दोलनबाट पक्राउ परेकाहरू सुरुवाती दिनदेखि नै जेल फोड्ने अभियानमा थिए । ‘कि मर्ने‚ कि जेल फोड्ने भन्ने योजनामा थियौँ,’ उनी सम्झन्छन्, ‘झापाको नडियाबाडीबाट पक्राउ परेपछि चन्द्र डाँगी मारिए । त्यही बेलादेखि हामीमा जेल फोड्नुपर्छ भन्ने सोचाइ थियो ।’

उनीहरू झापाबाट नै भाग्न खोजेका थिए । त्यहाँ उनीहरूलाई तुरुङमा हालेको थियो‚ त्यहाँबाट भाग्न सकेनन् । जेलभित्र मैनालीको काँधमा चढेर पर्खाल नाघ्न पनि खोजे सकेनन् । वीरगन्ज कारागारबाट भागेर भारत पस्ने योजना बनाएका उनीहरू त्यहाँ पनि सफल भएनन् ।

वीरगन्ज केही दिन राखेर उनीहरूलाई काठमाडौँको केन्द्रीय कारागार पठाइयो । केन्द्रीय कारागारमा  फेरि जेल फोड्ने र भाग्ने योजना बनाएपछि हामीलाई नख्खु कारागारमा लगिएको थियो,’ खरेल भन्छन्, ‘नख्खु कारागारमा पनि हाम्रो भाग्ने योजना कायमै थियो ।’

सुरुङ खनेर भाग्ने योजनाअनुसार २०३३ साल चैत १२ गते नख्खु कारागारबाट भाग्न सफल भएका नरेशहरूसहित फेरि केही दिनपछि पक्राउ परे । उनी २०४६ सालमा मात्र जेलबाट छुटेको बताउँछन् ।

ओलीसँगको सहकार्य

पहिला पार्टी विभाजन हुँदा लामो समय कतै नलागेका उनी पछि नेकपा मालेको केन्द्रीय कमिटी सदस्य भएका थिए । एमालेमा निक्कै अपमान र तिरस्कार त्यो बेलादेखि नै महसुस गरेको उनले आफ्ना अनुभूतिहरू सुनाए । कसरी उपमान र तिरस्कार भयो‚ कसले गर्‍यो भन्ने विषयमा उनी खुल्दैनन् ।

झापा विद्रोही कमिटीको सदस्य, झापा आन्दोलनका क्रममा केपीलाई सचिव बनाउने प्रस्तावक, २०४६ सालमा झापा जिल्ला कमिटी सदस्य, अञ्चल सदस्य, २०४९ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै २०५४ सालमा केन्द्रीय कमिटीको सदस्य भएका थिए नरेश ।

सातौँ र आठौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य हुँदै पोलिटब्युरो भएका नरेश नवौँ महाधिवेशनको केन्द्रीय कमिटीको निर्वाचनमा पराजित भए । पार्टी एकीकरण भएपछि  नेकपा भएको बेलामा पनि उनलाई केन्द्रीय सदस्य बनाइयो । तर‚ अहिले आएर उनलाई कुनै पनि जिम्मेवारी दिइएन ।

केन्द्रीय कमिटीको सदस्यको रूपमा समेत ओलीले मनोनीत गरेनन्  ।दसौँ महाधिवेशनबाट सदस्य बन्न पाउने आशा बोकेर केन्द्रीय महाधिवेशनमा गएका थिए नरेश । नरेशले सोचेजस्तो न केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित हुन पाए‚ न मनोनीत गर्दा नै उनको नाम पर्‍यो । ‘योग्य र सक्षम मानिसहरूको पार्टीलाई आवश्यकता पर्‍यो होला,’ खरेलले व्यङ्ग्यात्मक शैलीमा भने, ‘पार्टीभित्र अब मेरो आवश्यकता अनुभूति गरिएन ।’

सर्वहाराको पार्टी बनाउनका लागि नरेश खरेलको आवश्यकता पार्टीभित्र नभएकाले आफू केन्द्रीय कमिटीभित्र नपरेको हुन सक्ने उनको अनुमान छ । ‘पहिलादेखि नै पर्छु भन्ने लागेको थिएन,’ खरेल भन्छन्, ‘जब नेतृत्वले आलोचनालाई खप्न सक्दैन, नेतृत्व प्रशंसाको भोको छ, त्यस्तो ठाउँमा मेरो आवश्यकता थिएन ।’

आफूलाई यथार्थवादी व्यक्तिको रूपमा रहेको बताउने उनी एमाले बनाउने, एकीकृत गर्ने भनेर लागेको व्यक्तिको रूपमा आफूलाई चित्रित गर्छन् । अहिलेको पार्टीभित्र सम्पन्न व्यक्ति चाहिने, चन्दा दिने मान्छे पार्टीलाई आवश्यक भयो तर संगठन बनाउने मान्छेको आवश्यकता महसुस पार्टीले नगरेकोमा उनको चित्त दुखाइ छ ।

अहिले पनि एमाले पार्टीमा रहेको अवस्थामा पार्टीभित्र योगदानको मूल्याङ्कन नभएको उनको भनाइ छ । ‘धेरै पटक साथीहरूले भनेकाले आफू केन्द्रीय सदस्यमा पर्छु भन्ने लागेको थियो,’ उनले भने, ‘अध्यक्षले नाम प्रस्ताव गर्दा आफ्नो नाम नपर्दा दुःख लाग्यो, पछि मनोनीत गर्ने भनेर फोन पनि गरियो तर त्यसमा पनि नाम समावेश भएन ।’

झापा आन्दोलनसँग गाँसिएका आफूहरू दुई जना मात्र रहेकाले पनि केन्द्रीय कमिटीमा आफू पर्ने आस रहेको तर ओलीले आफू एक्लै बस्न चाहेको खरेलको टिप्पणी छ । आफू एमालेमा झुन्डिएर रहेको बताउने खरेलले आफूलाई अन्य पार्टीहरूले समेत फकाइरहेको तर तत्काल अन्य दलमा जाने मनस्थितिमा नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *