यसरी पाए आभाषराजले अभिभावक

काठमाडौँ । मसिंर २१ गतेको साँझ साढे ७ बजेतिर, शत्रुधन महतो सिराहाको जिरो माइल बरियापट्टी सडक खण्डमा आफ्नै सुरमा हिँडिरहेका थिए । एक्कासि उनले सानो बच्चा रोएको सुने । आवाज पछ्याउँदै जाँदा उनले सडकमा फालिरहेको बच्चा देखे । बच्चा हेर्दा जन्मिएको २,३ दिन मात्र भएको जस्तो देखिन्थ्यो ।

शत्रुधनले प्रहरीलाई खबर गरे । प्रहरीले बच्चालाई उद्धार गरेर नैनपुर स्वास्थ्य चौकी पुर्‍यायो । त्यसको दुई दिन पछि बच्चालाई जिल्ला अस्पताल सिराहा ल्याइयो । बच्चाको हेरचाह स्याहारसुसार जिल्ला अस्पतालका नर्सहरूले गरे ।


बच्चा जन्मेको ६ दिनमा गरिने छथियारा अर्थात् न्वारान गर्ने तराईको चलनअनुसार जिल्ला अस्पताल सिराहाको आयोजना र अस्पतालका नर्सहरूले व्यवस्थापनमा नागरिक समाज सञ्चारकर्मीलगायत उपस्थित भएर छथियारा कर्म गरियो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका सञ्चारकर्मी देवकुमार यादवले सामाजिक सञ्जालमा बच्चाको नाम के राख्नु ठिक होला भन्नेबारे स्ट्याटस लेखे । जसबाट प्राप्त भएका २ सय ५० भन्दा बढी नामलाई गोलामार्फत् छनोट गर्दा नाम चयन भयो– आभाषराज ।

त्यति बेलासम्म हस्पिटलको रेकर्डमा ‘बेवारिसे’ रहेका ती बच्चाको नाम त्यसपछि लेखियो आभाषराज । अस्पतालका नर्सहरूले बच्चाको सरसफाइ, हेरचाह, दुध खुवाउनेदेखि सबै काम आफ्नै बच्चाको जस्तै गरेको यादव बताउँछन् ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले बच्चालाई लिन चाहनेलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गर्‍यो । जसका लागि कानूनी प्रकृयासहितको चार दिने सार्वजनिक सूचना जारी गर्‍यो ।

सूचनामा अभिभावकको आर्थिक अवस्था, यसअघि बच्चा भए नभएको, नभएको भए कहिलेदेखि नभएको, बच्चा हुने नहुने अवस्था, मेडिकल रिपोर्ट, शैक्षिक प्रमाणपत्र, चालचलन, दीर्घ रोगी नभएको प्रमाण, स्थानीय तहको सिफारिस, अभिभावकको उमेर, विवाह दर्तालगायत कागजातसहित निवेदन मागिएको थियो ।

तोकिएको चार दिनमा विभिन्न ठाउँबाट १९ दम्पतीले आभाषराजलाई आफ्नो सन्तान बनाउन मञ्जुर रहेको भन्दै प्रशासनमा निवेदन पेश गरे । बच्चा लैजान इच्छुक रहेको भनेर व्यक्तिगत रूपमा पनि आफूलाई देश विदेशबाट समेत धेरै फोन आएको यादवले मकालुखबरलाई बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि रहेको आभाषराज छनोट समिति गठन गरिएको थियो । सबै प्रक्रिया पूरा गर्दा तीन दम्पती अन्तिम छनोटमा परे । छनोट समिति र यसका साथै जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिसमेतको छलफलबाट ललितपुरका थापा दम्पतीलाई आभाषराज हस्तान्तरण गर्ने निर्णय गरियो ।


आभाषराजका लागि इच्छा राख्ने धेरै रहेको र कतिपयले त बच्चाको नाममै घडेरी पास गरिदिन्छु पनि भनेको स्मरण गर्दै यादव भन्छन्, ‘तर प्रक्रिया पुर्याएर जाँदा थापा दम्पती छनोटमा पर्नुभयो ।  थापा दम्पती पारिवारिक, आर्थिक भौगोलिक स्वास्थ्य सबै दृष्टिकोणले पूर्ण भएकाले आभाषराज हस्तान्तरण गर्ने निर्णय समितिले गरेको हो ।’

ललितपुर महानगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भएका दिपक थापा  र ज्योती थापा इन्जिनियर हुन् । आफ्नो बच्चा नहुने प्रमाणित भएपछि उनीहरूले आभाषराजलाई छोराका रूपमा लिएका हुन । जिल्ला प्रशासन कार्यालयले पत्रकार सम्मेलन नै गरी थापा दम्पतीलाई  विधिवत् रूपमा विभिन्न सर्त पुरा गर्ने बाचाका साथ आभाषराजलाई जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *