प्रदेश १

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार

विराटनगर । प्रदेश १ सरकारले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गदैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम राखिएको हो ।

आज दिउँसो ३ बजे सार्वजनिक गर्न लागिएको न्यूनतम साझा कार्यक्रममा सबै गठबन्धन सरकारका दलहरूको सहयोग रहेको छ । २० पेज लामो साझा कार्यक्रमले दीर्घकालीन रूपमा प्रदेशलाई बलियो बनाउने तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषय साझा अघि सारेको छ । प्रदेश १ प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि कार्यान्वयनमा आउन नसकेको अवस्थामा पर्यटनलाई केन्द्रमा राखेर प्रदेशलाई आर्थिक रूपमा बलियो बनाई आत्मनिर्भर बनाउने दीर्घकालीन सोच साझा कार्यक्रमले लिएको बताइन्छ ।

जनताको चाहनालाई आधार बनाएर साझा कार्यक्रम बनाइएको सरकारले बनाएको न्यूनतम साझा कार्यक्रम कार्यदलका संयोजक शेखरचन्द्र थापाले बताए । ‘नागरिकका इच्छा र चाहनालाई आधार बनाएर साझा कार्यक्रम बनाइएको छ,’ उनले भने, ‘समष्टिगत रूपमा यसलाई वस्तुपरक रूपमा महत्त्वाकाङ्क्षी बनाइएको छैन, प्रदेशको धरातलीय यथार्थता, साधन र स्रोतको आधारमा प्रदेशको जनताको भावनालाई आत्मसात् गर्ने गरी साझा कार्यक्रम बनेको छ ।’

कार्यदलले दिएको सुझावको आधारमा सरकारले आज कार्यक्रम सार्वजनिक गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजक रहेको कार्यदलमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य राजन राई, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य धीरेन्द्र शर्मा, जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य रामचन्द्र लिम्बुसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङ्ग सदस्य रहेको कार्यदल बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *