पर्यटन मन्त्री आले र भारतीय पर्यटनमन्त्री रेड्डीद्वारा किताब जात्राको विश्व यात्रा उद्घाटन

नयाँ दिल्ली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले बिहीबार किताब जात्राको विश्व यात्रा संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

दिल्लीको इन्डिया ह्याबिटेट सेन्टरस्थित लोधीरोडमा बिहीबार जात्राको अन्तरराष्ट्रिय संस्करण उद्घाटन गर्दै मन्त्री आलेले किताब जात्राको अन्तरराष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल–भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडी भएको र नेपाल–भारत सम्बन्ध राजनीतिक–कुटनीतिकमात्रै नभएर जन–जनको सम्बन्ध भएको पुष्टी भएको बताएका छन् ।

 

नेपाल–भारत संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध तथा नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उत्तिकै बलियो रहेको भन्दै मन्त्री आलेले भने, ‘किताब जात्राले अझै हाम्रो सम्बन्धलाई थप विस्तार गरेको छ ।’

त्यस्तै भारतीय मन्त्री रेड्डीले नेपाल–भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड बताए । उनले भने, ‘हाम्रो सम्बन्ध सृष्टि र सभ्यता सुरुदेखिकै भएकाले यसलाई तोड्ने र दूरी पैदा गर्ने जति प्रयास भए पनि असफल हुँदै आएको छ, हाम्रो सम्बन्ध कसैले तोड्न सक्दैन ।’

नेपाल–भारतसभ्यता, संस्कृति, भावना, सन्तऋषि, खानपान, आस्थाका केन्द्रलगायत अनेकौँ आयाम एउटै भएको समेत मन्त्री रेड्डीले दाबी गरे ।

किताब जात्राको अन्तरराष्ट्रिय संस्करणको सन्दर्भमा किताब यात्रा फाउन्डेसनले यसै वर्षदेखि किताब यात्रा अनर अवार्ड प्रदान गर्ने भएको छ । उक्त अवार्ड यस वर्ष हाँस्य कलाकार तथा लेखक हरिवंश आचार्यलाई प्रदान गरिने निर्णय भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए । उनले किताब जात्राको विश्वयात्रा युरोपको विभिन्न देशमा गरिने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *