चन्द्रे भेटिएपछि परिवार खुसी, आमाको पनि होस आयो

सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका–१ का चन्द्रे कामी सम्पर्कविहीन भएदेखि सर्केगार्ड गाउँ नै दुखित भएको थियो । चन्द्रे सम्पर्कविहीन भएपछि परिवारमा निराशा छाएको थियो ।

चन्द्रे सम्पर्कविहीन भएको गतमंसिर २९ गते बुधबार रातिदेखि नै उनकी ५६ वर्षीया आमा सुकिल्ली लुहार बेहोस अवस्थामा थिइन् । उनले उक्त दिनबाट खानासमेत खान नसकेको चन्द्रेका माइला दाइ गोकुल सुनारले बताए ।

गोकुलले भाइ भेटिएको खबर पाएको र उक्त खबर आमाबुबालाई सुनाएपछि घरपरिवारमा केही शान्ति मिलेको आभास भएको बताए । साथै चन्द्रे सम्पर्कविहीन भएको दिनदेखि बेहोस अवस्थामा भएकी आमाको होस पनि आएको र अलिअलि खाना खान थालेको बताए ।

उनले आफ्नै गाउँले भाषामा भने‚ ‘तम्रो भाइ भेटियाँ भनिकन काडमाण्डुबाटी को सरले फोन गरेछियाँ (सरले काडमाडौँबाट फोन गरेर तपाईँको भाइ भेटिनुभयो भन्नु भएको थियो ।) भाइ भेटिएको खबर आमालाई, सुनाएपछि आमाले खाना खान र बोल्न थालेको उनले बताए ।

सुनारका अनुसार प्रहरीले चन्द्रेका आफन्तलाई सिमकोट बोलाएपछि बिहीबार बिहानै ६ बजे घरबाट सुनारसँगै, उनका बुबा धनञ्जय लुहार र गाउँका केही व्यक्तहरू सिमकोटतिर हिँडेको बताए । चन्द्रेको घरबाट हुम्ला सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नुपर्ने हुन्छ ।

बिहान १० बजे हिँडेका गोकुल सुनारसहित सात जनाको टोली अहिले सर्केगार्ड गाउँपालिकाको उन्पानी रीप गाउँमा पुगेका छन् । उनले भने‚ ‘अहिले साझ ६ बजे हामी यहाँको एक होटलमा पुगेका छौं, आजको बास हाम्रो यतै हुन्छ, फेरी भोलि बिहानै हिँडेपछि साँझसम्म सिमकोट पुग्छौँ ।’

अन्तरजातीय विवाह गरेका चन्द्रे कामी सम्पर्कविहीन भएको सात दिनपछि प्रहरीले पुस ७ गते बुधबार करिब ८:१५ बजेको समयमा हुम्लाकै खार्पुनाथ गाउँपलिका–५ मा रहेको याङ्चु बजारमा हिँड्दै गरेको अवस्थामा फेला पारेको थियो । फेला परेलगत्तै उनलाई करिब ६/७ घण्टाको बाटोबाट पैदल यात्रा गर्दै जिल्ला प्रहरी कार्यलय हुम्लाको सदरमुकाम सिमकोट पुर्‍याइएको छ ।

चन्द्रेका आफन्त जिल्ला प्रहरी कार्यलय हुम्लाको सिमकोट पुगेपछि दुवै पक्षलाई सँगै राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *