प्रदेश रंगशाला निर्माणको काम फास्ट ट्र्याकमा पूरा हुन्छ : मुख्य मन्त्री शाही

खेलाडीलाई खाजाको व्यवस्था सरकारले गर्ने

सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीले प्रदेश रंगशालाको काम फास्ट ट्र्याकमा पूरा हुने बताएका छन् ।

वीरेन्द्रनगरमा बिहीबारबाट सुरु भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्धाटन गर्दै मुख्य मन्त्री शाहीले यस्तो बताएका हुन् ।

शाहीले कर्णालीबासीले अपेक्षा गरेको प्रदेश रंगशाला निर्माणको काम तीव्र गतिमा अघि बढेको समेत जानकारी दिए ।

मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १ अर्ब ७० करोडको लागतमा रंगशाला निर्माणको काम अघि बढेको बताए ।

मुख्य मन्त्री शाहीले भने‚ ‘कर्णाली प्रदेशको विकासका लागि खेलकुद पहिलो प्राथमिकतामा रहेको छ, निर्वतमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरु गरेको रंगशाला निर्माणको काम आफू मुख्य मन्त्री भएलगत्तै शिलान्यास गरेको हुँ, शिलान्यासको कार्यक्रममै निर्माण कम्पनीलाई बोलाई समयमै काम सक्न निर्देश दिइसकेको छु ।’

‘साथै मुख्य मन्त्री शाहीले कर्णालीका खेलाडीले प्रतिस्पर्धा गर्न जाँदा खाली पेट जानु नपर्ने र क्लोज क्याम्प र खेलाडीलाई खाजाको व्यवस्थासमेत अब कर्णाली सरकारले गर्ने बताए । मुख्य मन्त्री शाहीले ३३ महिनामा कर्णाली प्रदेशको रंगशाला निर्माण हुने र समयमा सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने भन्दै चेतावनीसमेत दिँदै आएका छन् ।

यस्तै वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगगीता बिहीबारबाट सुरु भएको छ । ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ बिहीबार प्रथम तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै मुख्य मन्त्री शाहीले समृद्धिका लागि सदैव तयार रहनुका साथै राष्ट्रमा मात्रै नभएर अन्तरराष्ट्रियमा खेलकुद लैजान आफू सधैँ तयार रहेको बताएका छन् ।

उक्त तेक्वान्दो प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक कर्णाली प्रदेश तेक्वान्दो संघ वीरेन्द्रनगर सुर्खेतले जनाएको छ ।

प्रतियोगितामा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जुम्लाका खेलाडी सहभागी भएका छन् । भने सबै गरेर ३ सय जना खेलाडी सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *