बालिका हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट बालिका हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कर्तव्य ज्यान कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

मोरङको रंगेली नगरपालिका २ नहरटोलका चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउ मंसिर २६ गतेदेखि बेपत्ता भएकी थिइन् । घरबाटै हराएकी युनिसा हराएको बारेमा उनका परिवारले प्रहरीमा जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको खोजी गर्ने क्रममा मंसिर २८ गते दिउँसो चन्द्र उराउको घर पछाडिको पैनीमा गाडेको अवस्थामा बालिकाको शव फेला पारेको थियो ।

शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले हत्याको आशंकामा दुई जनालाई पक्राउ गरेको जनाएको छ । कसुरमा संलग्न मोरङको रंगेली नगरपालिका-२ नहर टोल बस्ने वर्ष ४६ को सैनी उराउ र वर्ष ३५ की संगिता उराउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले दुवै जनालाई आइतबार नै पक्राउ गरेको भए पनि आजमात्र सार्वजनिक गरेको हो । बालिकालाई हत्या गर्नुको कारण बारेमा अनुसन्धान भइरहेको उनले बताए । उनीहरूलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *