अपरिचित अनुहारमाथि ‘विमर्श’

सुर्खेत । फ्यूचर नेपालले लेखक तथा समालोचक महेश पौड्यालद्वारा लिखित पुस्तक अपरिचित अनुहारमाथि ‘विमर्श’ कार्यक्रम गरेको छ । शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच उक्त ‘कथा सङ्ग्रह’ माथि विमर्श गरिएको हो ।

कर्णालीको पठन संस्कृतिमा एउटा इँटा थप्ने प्रयास स्वरूप कार्यक्रम गरिएको आयोजक फ्यूचर नेपालले बताएको छ । झन्डै ८० जना भन्दा बढी युवाहरू सहभागी रहेको उक्त कार्यक्रममा पुस्तकका विभिन्न पक्षहरूमा छलफल तथा टिप्पणी गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका बालराेग विशेषज्ञ तथा सामाजिक अभियन्ता डाक्टर नवराज केसीले ‘पुस्तक किन पढ्ने ?’ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा साहित्यकार तथा गीतकार गोविन्द कँडेल ‘आँसु’ले साहित्यमा साधना जरुरी रहेकाे बताए । उनले भने, ‘अपरिचित अनुहारले समाज बोलेको छ । सबैले एक पटक अध्ययन गर्न जरुरी छ ।’

साथै उनले पछिल्लो समय लेखकहरू सामाजिक सञ्जालमा भाइरल हुने प्रचलन बढेको प्रति टिप्पणी गर्दै भने, ‘लेखकहरूले भाइरल हुने हैन, अमर हुने हो ।’ उनले अपरिचित अनुहार ‘कथा सङ्ग्रह’ पाठकले पढ्दै जाँदा कुनै पनि व्यक्तिको वर्तमान सोचाइ भन्दा फरक पाइने बताए ।

यस्तै टिप्पणीकर्ता नेहा बस्नेतले अपरिचित अनुहारमा अधिकांश मनोवैज्ञानिक धारमा रहेर कथाहरू लेखिएको बताइन ।  ‘समाजले कुनै स्थान नै नदिएका पात्रहरूलाई नायक बनाएर  कथाकारले संक्षिप्त कृती रचना गरेका छन्,’ उनले भनिन् ।

त्यस्तै अर्का टिप्पणी कर्ता मध्यपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक तथा लेखक वासुदेव पाण्डेले किताबमा मान्छेका कथा मात्र नभएर जीवन, जगत, मनोविज्ञान, दर्शन र समाजको गतिलो चित्रण भएको बताए । कृतीले समाजको वास्तविक ऐनालाई प्रतिबिम्बित गरेको बताए । कार्यक्रममा सहभागीहरूले कथा सङ्ग्रहमाथि आफ्ना धारणा समेत राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *