सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरू

धनगढी। सुदूरपश्चिमको धनगढीबाट पर्यटन साइकल यात्रा २०७८ शुरू भएको छ । सुदूरपश्चिमका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजित साइकल यात्राको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरे । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा शुरू भएको साइकल यात्रा पुस ५ गतेसम्म चल्ने छ ।

साइकल यात्रामा भारतलगायत देशका विभिन्न ठाउँका साइकल राइडरहरुको सहभागिता रहेको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले बताए । उनका अनुसार धनगढीदेखि शुरू भएको साइकल यात्रा गोदावरी, खानी डाँडा हुँदै डोटीको बुडरसम्म पुग्नेछ ।

साइकल यात्रामा भारतको गाजियावाद, नैनी ताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौँ, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरका एक सय भन्दा बढी साइकल यात्रीको सहभागिता रहेको छ ।

यात्राको अन्तिम दिन डोटीको बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गरिनेछ । धनगढीस्थित निसर्ग हस्पिटलको स्पोन्सरसीपमा आयोजना गरिने उक्त प्रतियोगिताका विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक कुबेरबहादुर शाहीले बताए ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरीमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उप–विजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ दिइने छ ।

साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम इकाईका निमित्त प्रमुख भोजराज पाठकले बताए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कानून मन्त्री पूर्णा जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *