विश्वप्रकाशले भेटे माओवादी द्वन्द्व र जनआन्दोलन-२ का घाइते

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरूलाई भेटेर सम्मान व्यक्त गरेका छन् । महामन्त्रीमा विजयी भएको भोलिपल्टै शर्माले दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते भएका मुकेश कायस्थ र तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते भएका दीपेन्द्र गिरीलाई भेटेर सम्मान व्यक्त गरेका हुन् ।

कायस्थलाई शर्माले काभ्रेको बनेपा नगरपालिका-८ स्थित उनकै घरमा भेटघाट गरेका हुन् । ‘अर्ध चेत’ अवस्थामा रहेका उनलाई भेट गर्दै शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायस्थ बनेपाको तीनदोबाटोमा बायाँ कन्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनयता उनको होस् अझै खुल्न सकेको छैन । उनको बायाँ हातसमेत राम्रोसँग चल्दैन ।

हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्य जाँच गर्दै आएका छन् । टाउकामा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै आमा मिराले बताइन् । तत्कालीन सरकारले मुकेशको उपचारका लागि १६ लाख सहयोग तथा बैंकको सात लाख ऋण मिनाहा गरिदिएको थियो ।

सरकारद्वारा जीवन निर्वाह भत्तास्वरुप मासिक १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठाले मुकेशका नाममा पुनः स्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।

यस्तै शरीरको मेरुदण्डमुनिको भाग नचल्ने भएपछि २० वर्षदेखि ओछ्यानमै रहेका नेपाल विद्यार्थी संघका नेता गिरीलाई पनि भक्तपुरको लोकन्थलीस्थित उनकै निवासमा शुक्रबार भेटेर महामन्त्री शर्माले सम्मान गरे । सो अवसरमा महामन्त्री शर्माले नेता गिरी शान्तिको बाटो बिराएर हिंसात्मक राजनीतिको बाटोमा हिँड्दा उत्पन्न परिस्थितिको अमिलो अध्यायको प्रतिनिधि पात्र भएको उल्लेख गरे ।

अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा शर्माले आफूलाई लगाई दिएका माला र खादा यसै गरी गिरीलाई लगाई सम्मान गरेका थिए । काभ्रेको कार्तिके देउरालीका गिरी २०५८ सालमा २३ वर्षको उमेर हुँदा तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *