झापामा ट्राफिक सचेतना अभियान सञ्चालन गरिने

झापा । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन भन्दै झापामा ट्राफिक सप्ताह गरिने भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने जनाएको हो ।

विशेष गरी पुस र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिना इ हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईँले बताए ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उनले बताए । यो अभियान १ नम्बर प्रदेश भरी नै सञ्चालन भइरहेको र झापामा पनि  सप्ताहव्यापी ट्राफिक सचेतना अभियान गर्न लागिएको प्रहरी निरीक्षक चापागाईँले बताए ।

अभियानमा विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, बुद्धिजीवीको संयुक्त सहभागिता रहनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरूमा ५/५ जना विद्यार्थी, २/२ जना स्काउट स्वयंसेवक तथा २/२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औँल्याउने र उनीहरूलाई सम्झाईबुझाई गर्ने, स्थानीय तह, सरोकारवाला निकाय, संघ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख राजमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अव्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री,निर्माण सामग्री हटाइने छ ।

स्कुल तथा कलेजका बसको अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात, सवारीको अवस्था, गति, पोसाकको प्रयोग, क्षमता तथा ओभर ट्याक सम्बन्धी प्रशिक्षणसमेत दिने ट्राफिक प्रहरीको तयारी छ । सार्वजनिक यात्रु बसमा सवारी साधनहरूमा डस्टबिन , ज्येष्ठ नागरिक, महिला तथा अशक्त भएका यात्रुहरूलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभर निरीक्षण गरिने  चापागाईँले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *