भारतीय नागरिक‚ जो नेपाललाई कमाउने गन्तव्य ठान्छन्

विराटनगर । मंसिरको अन्त्य, तराईमा हुस्सु लाग्ने समय सुरु हुँदैछ । बिहानको समय निक्कै नै चिसो छ । हात नै ठिहिर्‍याउने चिसो छ । त्यहि चिसोको बिचमा भारतको सुपौल जिल्लाको बवलाका ४५ वर्षीय मोहम्मद जियाउल मोरङ र सुनसरी जोड्ने पुलमा काम गर्दैै थिए ।

बिहान करिब ८ बजे बुढिगंगा गाउँपालिका- ३ र सुनसरीको दुहबी नगरपालिका-७ जोड्ने पुलको निर्माणमा उनीसहितका १४ जनाको टोली सक्रिय देखिन्थ्यो ।

बिहान उठेदेखि नै काममा व्यस्त रहने जियाउलको दैनिकी भनेको खोलामा निर्माण हुँदै गरेको पुल निर्माणको काम गर्नु हो । उनी तीन वर्षअघि भारतका विभिन्न स्थानमा निर्माण हुने पुलको काममा सहयोगीको काम गर्थे । उनलाई भारतमाा जसरी काम गर्नका लागि असहज हुन्थ्यो‚ नेपालमा त्यस्तो छैन । भारतका विभिन्न स्थानमा काम गर्न जाँदा पनि नियमित काम नपाउने समस्याले हैरान भएका जियाउललाई नेपालमा आएर काम गर्दा काम नपाउने समस्या छैन ।

‘भारतमा पनि काम नपाउने त होइन, काम पाउँछ तर नेपालको जस्तो सधैँ काम पाउँदैन,’ जियाउलले भने, ‘नेपालमा काम नपाएर कहिल्यै खाली बस्नुपर्दैन ।’ नेपाल आएर काम गर्न थालेपछि कहिल्यै खाली बस्नु नपरेको उनले सुनाए । उनले खान‚ बस्नसमेत कम्पनीले नै दिने गरेको र काम गरेबापत महिनामा भारु १५ हजारसम्म पाउने गरेको बताए ।

जियाउलमात्र होइन‚ भारतबाट काम गर्न नेपालमा आएका मोहम्मद वासिम पनि फारबिसगञ्जका हुन् । दिनको १५ सयसम्म पारिश्रमिक पाउने गरेको मोहम्मद बताउँछन् । ‘कसैलाई एक हजार‚ कसैलाई १२ सयसम्म दैनिक नेपाली रुपैयाँ दिने गरेको छ,’ उनले भने, ‘यो पुलमा काम गर्नका लागि मात्र १४ जना कामदारहरू ईन्डियाबाट नै आएका छौँ ।’

फारबिसगञ्जका एमडी नुरसादले पनि मासिक १० हजार भारतीय रुपैयाँ आफूले कमाउने गरेको बताए ।

नेपालका निर्माण कम्पनीहरूले पुल निर्माणमा अधिकांश भारतीय कामदार ल्याउने गर्छन् ।

ज्यालामा सस्तो पर्ने र काम गराउन सजिलो हुने गरेकाले नेपाली कम्पनीको रोजाइमा भारतीय कामदार पर्ने गरेका हुन् ।

नेपालमा बेरोजगारी मुख्य कारण देखाउँदै वैदेशिक रोजगारीको सिलसिलामा भारत तथा खाँडीका देशहरूमा युवा पलायन भइरहेको अवस्थामा नेपालमा भने भारतीय मजदुरबाट निर्माणका काम भइरहेको छ ।

पुल निर्माणमा मात्र होइन‚ ओभरहेड खानेपानीको ट्यांकी निर्माण गर्न तथा सडक कालोपत्रे गर्ने क्रममा पनि सबै भारतीय कामदारहरूको नै प्रयोग हुने गरेको निर्माण कम्पनीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *