एनआरएनए चुनाव अनिश्चित, प्रमुख निर्वाचन आयुक्तले दिए राजीनामा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन अनिश्चित भएको छ । दसौँ महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो ।

गैर आवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको चरम अनियमितताको कारणले प्रमुख निर्वाचन आयुक्त पौडेलले राजीनामा दिएका हुन् । पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा पत्र बुझाएपनि भित्री कारण भने संघभित्रको विवाद नै हो । ‘वर्तमान परिस्थितिमा मैले काम गर्न सक्ने अवस्था रहेन,’ पौडेलले भने, ‘मेरो व्यक्तिगत कारण र संघभित्रको विवादले अवस्था सहज देखिएन ।’

प्रमुख निर्वाचन आयुक्त पौडेलले नाम मात्रको चुनाव गराउन सम्भव रहे पनि वास्तविक चुनाव गराउन भने सहज नभएको बताए । स्रोतका अनुसार कुमार पन्त नेतृत्वको वर्तमान कामचलाउ कार्य समितिले निर्वाचन समितिलाई उपलब्ध गराएको मतदाता नामावलीविरुद्ध कैयौँ उजुरी परेको र ती उजुरीमाथि छानबिन गर्न पाउने अवस्था नरहेपछि पौडेलले पदबाट नै राजीनामा दिएका हुन् । विधान विपरीत चयन भएका भनिएका प्रतिनिधिहरूको नामावलीसमेत मतदाता सूचीमा समावेश गर्न दबाब परेपछि पौडेल निर्वाचन समितिबाट बाहिरिएका हुन् ।

नेपाल बार एसोसिएसनका महासचिव पनि रहेका पौडेलले संघमा सुनियोजित रूपमा धाँधली गर्ने योजनालाई कार्यान्वयन गर्न आफूलाई माध्यम बनाउन लागिएको समितिकै सदस्यहरूलाई बताएका थिए । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । भने शनिबार अर्थात् डिसेम्बर ११ मा उम्मेदवारी दर्ताको कार्यतालिका थियो । पौडेलले राजीनामा दिएपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुन सकेन भने निर्वाचनका बाँकी तालिका पनि प्रभावित भएका छन् ।

पन्त नेतृत्वको कार्यसमितिले विना कुनै सहमति जबरजस्ती चुनावको कार्यक्रमलाई अगाडि बढाउन दबाब दिएपछि निर्वाचन समितिका बहुसङ्ख्यक सदस्यहरूले राजीनामा गर्न लागेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

समितिका सदस्यहरूको पनि राजीनामा
प्रमुख निर्वाचन आयुक्त पौडेलले राजीनामा दिएपछि निर्वाचन समितिका अन्य सदस्यहरूले पनि राजीनामा दिन थालेका छन् । पौडेल लगत्तै निर्वाचन आयुक्त डा। गणेश गुरुङले निर्वाचन समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।

संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ । त्यसैले अब डिसेम्बर २६ र २७ मा गराउने भनिएको निर्वाचन गराउन कुनै पनि वैधानिक आधार बाँकी नरहेको निर्वाचन समितिका एक सदस्यले बताए । सात सदस्यीय निर्वाचन समितिका अन्य सदस्यहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन् ।

गैर आवासीय नेपाली संघको दसौँ महाधिवेशन गत अक्टोबरमा नै हुनुपर्ने थियो । अक्टोबर २० मा चुनावको हुने तय गरिएको थियो भने त्यसलगत्तै विश्व सम्मेलन हुने भनिएको थियो । तर महाधिवेशन प्रतिनिधि चयनमा विधान विपरीतका क्रियाकलाप भएको भन्दै उजुरी परेपछि महाधिवेशन तथा निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

सरकारले विधान बमोजिम विवाद समाधान गरी नयाँ निर्वाचन तथा महाधिवेशन गराउन डा।शेष घले नेतृत्वको संरक्षक परिषद्लाई जिम्मेवारी दिएपनि काम चलाऊ समितिका अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा मुद्दा दायर गरी अदालतको आदेश भन्दै आफूखुसी चुनाव गराउन निर्वाचन समितिलाई दबाब दिएका थिए । निर्वाचन समितिले पनि हात झिकेपछि अध्यक्ष पन्त थप दबाबमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *