होल्डिङ सेन्टर निर्माण : तीन महिनामा सक्नुपर्ने काम ६ महिनासम्म पनि अधुरै

धनगढी । कैलालीको धनगढी उपमहागनरपालिका- ३ मोहना नदी किनारको बडहरा जंगलमा कोरोना संक्रमिताका लागि भन्दै एक हजार शय्याको होल्डिङ सेन्टर बन्दैछ । तर‚ निर्माण सम्पन्न गर्न तोकिएको समयभन्दा दोब्बर समय सकिन लाग्दा पनि निर्माण कार्य अधुरै छ ।

गौरीफन्टा नाका नजिकै संघीय सरकारको २८ करोड ८१ लाखको लागतमा निर्माण भइरहेको होल्डिङ सेन्टर असार पहिलो साताबाट सुरु भएको हो । होल्डिङ सेन्टर निर्माण कार्य भदौ अन्तिमसम्म सक्नुपर्ने समयसीमा थियो । तर‚ मंसिर मसान्तसम्म आइपुग्दासमेत निर्माण कार्यको प्रगति ६० प्रतिशतमात्रै छ ।

नेपाली सेना मार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । निर्माणकार्य ४० प्रतिशत बाँकी रहेको अवस्थामा पुस मसान्तसम्म सबै निर्माण कार्य सकेर हन्तान्तरण गर्ने निर्माण कम्पनीको दाबी छ ।

यसअघि भदौ र कात्तिक पहिलो साता आएको पानीले गर्दा काम रोकिन पुगेको निर्माण कम्पनीका इन्जिनियर बिक्रम गैरेले बताए । ‘भदौ र कात्तिक पहिलो साता आएको पानीले गर्दा बाटो बिग्रिएपछि निर्माण कार्यमा अवरोध भयो,’ उनले भने, ‘अहिले भने काम धमाधम भइरहेको छ । पुस मसान्तसम्म निर्माण सकेर हस्तान्तरण गर्ने तयारी छ ।’

नदीको छेउमा हुँदा जमिनमुनि पानी आउने र पानीले बाटोको समस्या हुँदा पनि काम गर्न कठिन भएको इन्जिनियर गैरेको भनाइ छ । छठपछि मात्र निर्माणकार्यले गति लिएको उनले बताए । होल्डिङ सेन्टर निर्माणको काममा ढिलाइ भइरहेको अवस्थामा फेरि नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको छ ।

भारतमा ओमिक्रोन तीव्र रुपमा फैलिँदै गर्दा सुदूरपश्चिममा पनि जोखिम बढेको छ । तर होल्डिङ सेन्टर निर्माणमा भइरहेको ढिलाइले संक्रमण बढ्यो भने संक्रमितको व्यवस्थापनमा समस्या हुने देखिएको छ ।

सुदूरपश्चिममा यसअघि पहिलो र दोस्रो भेरियन्टको कोरोना फैलिएको बेला विद्यालयलाई नै होल्डिङ सेन्टर बनाउनुपरेको थियो । करिब डेढ बिघा क्षेत्रफलमा ५९ वटा ब्लकहरू निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएपछि २० वटा ब्लक क्वारेन्टाइनका लागि प्रयोग हुनेछन् । एउटा ब्लकमा ५० शय्या स्थापना गरिने निर्माण कम्पनीका इन्जिनियर गैरेले बताए । उनले १५ ब्लक भान्छाका लागि प्रयोग गरिने र २२ वटा ब्लकमा शौचालय निर्माण गरिने जानकारी दिए ।

होल्डिङ सेन्टरभित्र हरेक शय्यामा अक्सिजन आपूर्ति गर्ने उपकरण जडान गरिनेछ । होल्डिङ सेन्टरको दिगोपनको लागि तटबन्ध पनि त्यत्तिकै आवश्यक भएको हुँदा त्यसको प्रक्रिया पनि अगाडि बढाउनुपर्ने उनको सुझाव छ । होल्डिङ सेन्टरमा विद्युत्, खानेपानी, बाटो र तटबन्धका लागि धनगढी उपमहानगरलाई सिफारिस गरिसकेको वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले बताए ।

वडाबाट उपमहानगरमा सिफारिस गएको भएपनि टेन्डर भने हुन नसकेको उनको भनाइ छ । संघीय सरकारको बजेटबाट निर्माण भइरहेको होल्डिङ सेन्टरमा प्रदेश सरकार र स्थानीय तहबीच पनि सहकार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *