त्रिविको वार्षिक बजेट २३ अर्ब, अनुसन्धानमा जम्मा १.४७ प्रतिशत

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाले चालु आर्थिक वर्ष २०७८/७९ को लागि २२ अर्ब ९१ करोड १४ लाख ४ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

त्रिविका स्वायत्तताप्राप्त आठ आङ्गिक क्याम्पसहरुको आयव्ययसमेत यो बजेटमा समावेश गरिएको छ । जसमा नियमित कार्यक्रमतर्फ ११ अर्ब ८० करोड ३९ लाख ६८ हजार प्रस्ताव गरिएको छ भने आन्तरिक कार्यक्रमतर्फ सञ्चालन तथा पूँजीगत खर्च १० अर्ब ३१ करोड ८९ लाख ३६ हजार र विकास कार्यक्रमतर्फ ७८ करोड ८५ लाख बजेट प्रस्ताव गरिएको छ । गत मंसिर १४ गते बालुवाटारमा सम्पन्न त्रिविसभाबाट उक्त प्रस्तावित बजेट पारित भएको हो ।जसमा त्रिविले विश्वविद्यालय अनुदान आयोगमार्फत १० अर्ब ३३ करोड ५९ लाख ८१ हजार नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव गरिएको छ । बाँकी १ अर्ब ४६ करोड ७९ लाख ८७ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव गरेको छ । त्रिविका रजिष्ट्रार प्राडा. पेशल दाहालले सभामा नियमित कार्यक्रम, आन्तरिक कार्यक्रम र विकास कार्यक्रमको रुपमा बजेट विनियोजन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

नेपाल सरकारबाट चालु आर्थिक वर्षको चालु सञ्चालन खर्चका लागि ९ अर्ब १ करोड १३ लाख १८ हजार बजेट माग गरिएको छ । चालु खर्चको लागि विनियोजित रकममा नेपाल सरकारको अनुदान १ अर्ब ३२ करोड ४६ लाख ६३ हजार कम रहेको र प्रस्तावित अनुदान प्राप्त हुन नसके नियमित रुपमा सञ्चालित प्राज्ञिक एवम् अनुसन्धानात्मक क्रियाकलापमा छुट्याइएको बजेट कटौती गर्नुपर्ने अवस्था आउने हुँदा अपुग बजेट समेत नेपाल सरकारबाट उपलब्ध गराउने व्यवस्थाका लागि कुलपतिसमक्ष अनुरोध गरिएको छ ।

अनुसन्धानमा ३३ करोड, तालिम गोष्ठिमा १४ करोड
बजेटमा जनशक्तिलाई प्रविधिमैत्री बनाउन तालिम, सेमिनार तथा गोष्ठिका लागि १४ करोड २३ लाख १० हजार विनियोजन गरिएको छ । यस्तै सूचना प्रविधि प्रशासनिक संयन्त्र व्यवस्थापनको लागि चार करोड विनियोजन गरिएको छ ।

अनुसन्धान तथा विकासका लागि क्याम्पस, इकाइ, डिन कार्यालय तथा केन्द्रीय स्तरका कार्यालयहरुको लागि ३३ करोड ७८ लाख १ हजार विनियोजन गरिएको छ, यो कुल बजेटको १.४७ प्रतिशत हो । गत वर्ष यो शीर्षकमा १८ करोड ४ लाख ७६ हजार विनियोजन भएको थियो ।

यसअघिदेखि नै घाटा बजेट पेश
गत आर्थिक वर्ष २०७७/७८ मा नियमित कार्यक्रमतर्फ ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार बजेट स्वीकृत भएकोमा विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारले ८ अर्ब ४९ करोड ३१ लाख ७८ हजार मात्र प्रदान गरेको थियो । त्यस्तै, विश्वविद्यालयको आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड खर्च भएकोमा करिब दुई अर्ब घाटामा विश्वविद्यालय रहेको आयव्यय समीक्षामा भनिएको छ । आर्थिक वर्ष २०७६/७७ को लागि १४ अर्ब २१ करोड ३६ लाख ८२ हजार २९ रुपैयाँको बजेट रहेकोमा खर्च १४ अर्ब ८३ करोड ८६ लाख २८ हजार २ सय ५० रुपैयाँ भएको थियो । योे आर्थिक वर्ष २०७६/७७ मा विश्वविद्यालयको घाटा ६२ करोड ४९ लाख ४६ हजार दुई सय एक्काईस रुपैया रहेको थियो ।

बेरुजु २४ अर्ब २६ करोड
महालेखा परीक्षकको ५८ औँ प्रतिबेदनमा त्रिविको बेरुजु २४ अर्ब २६ करोड ८७ लाख ८५ हजार कायम भएको उल्लेख गरिएको छ । पछिल्लो आर्थिक वर्षमा ९३ करोड ७६ लाख ६९ हजार बेरुजु थप भएको हो । महालेखाको प्रतिवेदन सार्वजनिक भएपपिछ करिब एक अर्ब बेरुजु संपरीक्षण भएको र चार अर्ब बेरुजु संपरीक्षणको क्रममा रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

पेश्की ४ अर्ब ५ करोडभन्दा बढी
आ.व. २०७६/७७ सम्म ४ अर्ब ५ करोड ५६ लाख ६५ हजार २ सय ४४ रुपैयाँ फर्छ्याैट हुन बाँकी रहेको छ । उक्त अवधिमा एक अर्ब ३० लाख ३३ हजार ३ सय ५४ रुपैया बेरुजु असुल भएको पनि सभामा जानकारी दिइएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा व्यक्तिगत पेश्की फर्छ्याैट गर्दा चार वर्षदेखि दिँदै आएको पेश्की फर्छ्याैट गर्दा लाग्ने ब्याजमा पचास प्रतिशत छुट दिने नीति त्रिविले यो वर्ष पनि निरन्तरता दिएको छ ।

पेश्की फर्छ्याैट, बेरुजु घटाउने जस्ता आर्थिक सुशासनका मापदण्ड बलिया बनाउन त्रिविले नसकेको भनेर आलोचना हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *