यसरी बित्छ राउटेको दैनिकी (तस्बिरहरू)

सुर्खेत । जाडो याम शुरु भएको छ । यो याममा शरीरले न्यानो खाना, नाना र छाना खोज्छ । तर फिरन्ते जीवन बिताउने राउटे समुदायका नागरिकलाई यो सुविधा छैन । उनीहरू मुटु कमाउने जाडोमा पनि एकसरो पातलो लुगामा जीवन गुजारा गरिरहेका छन् ।

आफूलाई जंगलको राजा मान्ने राउटे कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छन् । अति लोपोन्मुख जातिमा रहेको राउटे समुदायले आफ्नै मान्यता र मौलिकताअनुसार जीवनयापन गरिरहेको छ । भलै उनीहरूमा बिस्तारै परिवर्तन भने नभएको होइन ।

उनीहरू जंगल, वन्यजन्तु र प्रकृतिसँग रमाएर बस्न चाहन्छन् । समुदायभित्र विभेद र वर्ग विभाजन छैन । यो नै उनीहरूको उत्कृष्ट पहिचान हो । कुनै समयमा राउटेहरू पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्थे । तर, अहिले राउटेका लागि पैसा अनिवार्य जस्तै भइसकेको छ ।

पहिला-पहिला उनीहरूले निर्माण गरेका काठका मधु कोसीलगायत सामान अन्नसँग साट्ने गर्थे भने आजभोलि उनीहरू त्यस्ता सामान पैसा लिएर बेच्ने गर्छन् । र पैसाले खाद्यान्न किनेर खाने गर्दछन् ।

यसका साथै उनीहरू पछिल्लो समयमा मदिराको लतमा पनि बढी नै पर्दै गएको चर्चा पनि हुने गरेको छ । मुख्यतया कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट जिल्लाका विभिन्न जंगलमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे हाल सल्यानको बनगाड कुपिण्डे नगरपालिका-३ कारागाउँमा छन् ।

रास्कोटी, कल्याल र सोमबंशी गरी तीन जातका राउटेहरू छन् । उनीहरूको मुख्य पेसा नै सिकार गर्न र काठका सामान बनाएर खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु हो । आफ्नो समुदायका कुनै सदस्यको मृत्युपछि बसाई सर्ने प्रचलन रहेको उनीहरू बताउँछन् ।

२०७८ सालको प्रारम्भिक जनगणनामा उनीहरूका ४८ घरधुरी र जनसङ्ख्या १४५ रहेको पाइएको छ । जसमा ६९ पुरुष र ७६ जना महिला छन् ।

नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ भने २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरु थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *