‘गुट नभई कांग्रेस बलियो बनाउने चाहना हो’

काठमाडौँ । नेपाली कांग्रेस नेता भुपेन्द्रजंग शाहीले सभापतिमा हारे पनि सुदृढ कांग्रेस बनाउने सपनाले नहारेको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा पराजित भएपछि शाहीले कांग्रेस सुदृढ बनाउने सपनाले नहारेको बताएका हुन् ।

उनले एक विज्ञप्तिमार्फत आफू विचलित नभई कांग्रेस सुदृढ बनाउन लागिपर्ने बताएका छन् । ‘जिन्दगीमा जतिसुकै दुख, पीडा,अप्ठ्यारो र कठिनाइ भोग्नु परे पनि मेरो यात्रा अविचलित र निरन्तर जारी रहनेछ,’ आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै उनले भने, ‘नआत्तिईकन धैर्य गरेर अघि बढ्न आग्रह छ । आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आफ्नो मेरो ध्यान केन्द्रित हुनेछ ।’

सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापति पदको निर्वाचन प्रक्रियामा भाग लिएको उल्लेख गर्दै उनले गुट बलियो नभई सिङ्गो कांग्रेस बलियो बनाउन आफूले मेहनत गर्ने पनि बताए । ‘निर्वाचन प्रक्रियामा पराजित हुँदा मैले प्रदेश सभापति पद गुमाएँ । तर मैले कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ कांग्रेस, समृद्ध कर्णालीको सपना गुमाएको छैन,’ उनले भनेका छन्, ‘कर्णालीका आम कांग्रेसजनहरूको माया, ममता र सद्भाव धेरै नै प्राप्त गरेको छु ।’

कर्णाली प्रदेशको नेतृत्वमा निर्वाचित टिमलाई आफ्नो पूर्ण सहयोग रहने र पराजित मानसिकता नबनाउने उनको भनाइ छ । उनी संस्थापन पक्षका ललितजंग शाहीसँग पराजित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *