बिहेमा बाजा बजाउन गएका साने ७ दिनदेखि बेपत्ता

काठमाडौँ । रामेछापको लिखुतामाकोशी गाउँपालिका-४ बाट हराएका साने भनिने ७१ वर्षीय रामबहादुर दमाई ७ दिनसम्म पनि घर नफर्किएको परिवारले जनाएको छ ।

यही मंसिर १३ गते गाउँकै बिहेमा बाजा बजाएर फर्कने क्रममा बाटोबाटै हराएको उनीसँगै गएका ठुलाकान्छा भनिने बीरे दमाईले बताए । सँगै रहेका सानेलाई बाटोमै बस्न भनेर आफू शौचालय गएको तर फर्केर आउँदा सानेलाई नदेखेको र साँझ पनि परिसकेकाले घर गयो भन्ठानेर आफू पनि घर गएको बीरेले बताएका छन् । तर‚ साने भने अझै पनि घर पुगेका छैनन् ।

साने घर नआएपछि उनका परिवार र छिमेकीले खोजी गरेपनि हालसम्म नभेटिएको परिवारले जनाएको छ । खोजीका लागि स्थानीय प्रशासन र जनप्रतिनिधिहरूलाई गुहारे पनि बेवास्ता गरेको परिवारको आरोप छ ।

स्थानीय दीपक सुन्दासले साने बेपत्ता भएको ठाउँ वरपर मात्र प्रहरीले सामान्य खोजतलास गरेको बताए । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालगायत जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराइए पनि खोजीका लागि कुनै पहल नभएको परिवारले बताए ।

सानेको खोजीमा सहयोग गरिदिन स्थानीय जनप्रतिनिधि, प्रहरी, युवा‚ स्थानीय अगुवा लगायतलाई परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *