को हुन् सबैलाई छक्क पार्दै जर्मनीको चान्सलर चुनिएका सोल्ज ?

काठमाडौँ । यही मंसिर ८ गते आफ्नो मन्त्रिपरिषद् गठन गरेका जर्मनीका चान्सलर ओलाफ सोल्ज बारेमा धेरैको चासो छ । उनले औपचारिक रूपमा अर्को हप्ता मात्रै शपथ लिनेछन् । तर, उनले आफ्ना घोषणा, धारणा र कार्यक्रमहरूको झल्को भने दिन थालेका छन् ।

१६ वर्षपछि एङ्गेला मर्केलको सत्ता बहिर्गमनसँगै उनको दल क्रिस्चियन डेमोक्रेटिक युनियन समेत जर्मन सत्ताबाट बाहिरिएको छ । र सत्ताको कमान्डर बनेर आएका छन् कुनै बेलाका मर्केलकै सत्ता साझेदार दल सोसल डेमोक्रे्ट पार्टीका नेता सोल्ज ।

गत सेप्टेम्बर २६ मा भएको चुनावमा २०६ सिट ल्याएर सोल्जको पार्टी पहिलो भएको थियो । पछिल्लो चुनावमा पाएको १५३ सिटभन्दा ५६ सिट थप्दै उनको दल विशाल जनमत बनाउन सफल भयो ।

मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिकले भने १९७ सिट मात्रै ल्याएको छ । यो पछिल्लो चुनावमा २४६ सिटभन्दा ४९ सिट कम हो । ६३ वर्षका सोल्ज झन्डै दुई दशकदेखि जर्मनीको राजनीतिमा चिनिएको अनुहार हो । उनी सन् २००३ मा आफ्नो पार्टीको महासचिव थिए । राजनीतिका प्रारम्भिक दिनहरूमा उनलाई ‘धेरै वामपन्थी’ भनिन्थ्यो । अहिले उनी ‘कम वामपन्थी’ भएको उनको समाजवादी दलका नेता कार्यकर्ता देखी टिप्पणीकारहरूले पनि भन्दै आएका छन् ।

सोल्जको राजनीति मेयरबाट सुरु भएको हो । उनी सन् २०११ देखी २०१८ सम्म जर्मनीको सहर ह्यामबर्गका मेयर थिए । यस्तै सन् २००९ देखी २०१९ सम्म उनी आफ्नो दलको उपनेता थिए । सन् २०१८ बाट उनी मर्केल क्याबिनेटका अर्थमन्त्रीको रूपमा गठबन्धन सरकारमा सामेल भएका थिए । सरकारमा हुँदा उनी भाइस चान्सलरको भूमिकामा समेत थिए । रोचक कुरा के भने उनी चान्सलरको रूपमा चुनावी तयारी थाल्नुभन्दा अगाडि नै आफ्नो दलको अध्यक्षमा पराजित भए । दलीय राजनीतिमा पछि परेपनि उनी संसदीय राजनीतिमा भने अगाडि आएका छन् ।

मर्केलको टिमका भाइस चान्सलरदेखि अर्थमन्त्री भएपनि अहिले सोज्लको गठबन्धन सरकारमा भने मर्केलको पार्टी सहभागी भएको छैन । सोल्जलाई ग्रिन पार्टीका साथै फ्री डोमोक्रेटिक पार्टीलगायतका दलहरूको साथ छ । गठबन्धनले १७७ पृष्ठको सहमति गरेर सरकार चलाउने भएको हो ।

जर्मनीको राजनीतिमा विश्वलाई नयाँ अनुहार लागेपनि उनको चान्सलरको लक्ष्य भने धेरै पुरानो भएको जर्मन टिप्पणीकारहरूले न्यूयोर्क टाइम्ससँग बताएका छन् । चुनावी तयारीको लागी उनले १२ किलोग्राम तौल घटाएको न्यूयोर्क टाइम्सले लेखेको छ । चान्सलर भएसँगै उनले कोभिड-१९ खोप अनिवार्य गरेका छन् ।

युरोपका विभिन्न शहरहरुमा खोप नलाउनेहरू र खोपको विरुद्ध जुलुसहरू भइरहेको बेलामा उनले यस्तो घोषणा गरेका हुन् । हालसम्म जर्मनीका ६९ प्रतिशत नागरिकले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन् ।

कोभिडको सुरुका लहरहरूमा उनी झन्डै नौ खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएर लोकप्रियता कमाएको बीबीसीले उल्लेख गरेको छ । यस्तै युरोपेली संघले तयार गरेको ७५ अर्ब युरोको महामारी राहत कोषको स्थापनामा समेत उनको योगदान छ । सोल्ज चान्सलर हुन्छन् भन्ने केही महिना अगाडिसम्म धेरैको अनुमानसम्म नभएको जर्मन सञ्चारमाध्यमहरूले लेखेका छन् । जर्मन सरकारको स्वामित्व रहेको डचेमेले अनलाइनले सोल्जले धेरैलाई चकित पारेर चान्सलरको बाटो तय गरेको लेखेको छ ।

विश्व भूराजनीतिमा सोल्जले पुरानै जर्मन नीतिलाई निरन्तरमा दिने चर्चा छ । तर, अहिलेका अमेरिका, चीन र रुसभन्दा नयाँ अरू शक्तिहरू चाँडै आउने उनको तर्क छ । संसारको जनसङ्ख्या १० अर्ब पुग्न लागेकोले धेरै नयाँ विश्व शक्तिहरू उदय हुने उनले बताउने गरेका छन् । राजनीतिमा आउनु अगाडि सोल्ज श्रम र रोजगार सम्बन्धीका विज्ञ वकिल पनि थिए । उनले ह्यामबर्ग विश्वविद्यालयमा पढेका हुन् । त्यही विश्वविद्यालय भएको शहरको पछि मेयर पनि भए उनी ।

सोल्ज दम्पती नै राजनीतिमा छन् । उनकी पत्नी ब्रिट्टा अर्नेस्ट सोसल डेमोक्रेटिक पार्टीकै नेतृ हुन् । तर उनी कुनै सार्वजनिक पदमा भने छैनन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *