यी हुन् विश्वका सबैभन्दा महँगा १० सहर

विश्वकै लागि यो वर्ष आर्थिक रुपले कठिन रह्यो । बुधबार प्रकाशित एक नयाँ अनुसन्धानको प्रतिवेदन अनुसार आपूर्ति श्रृङ्खलामा भएको अवरोध र उपभोक्ता मागको परविर्तनले विश्वका ठूला सहरहरुमा जीवनयापनको लागत बढेको छ । मुद्रास्फिति विगत ५ वर्षको तुलनामा सबैभन्दा तीव्र गतीमा पुगेर रेकर्ड नै तोडिएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटद्वारा जारी गरिएको ‘विश्वव्यापी जीवनयापनको लागत सूचकांक–२०२१’ अनुसार ५ स्थानमा रहेको एउटा सहर यस वर्ष पहिलो स्थानमा उक्लिएको छ ।

इजरायली सहर तेल अभिभले गत वर्ष सूचीको शिर्ष स्थानमा रहेको पेरिसलाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । दोस्रोमा पेरिस छ । सिङ्गापुर भने सूचीको तेस्रो स्थानमा आइपुगेको छ ।

‘इआईयू’ले अभिभको सूचकांकमा तीव्र वृद्धि हुनुको कारण किराना र यातायातको मूल्यमा भएको वृद्धि र अमेरिकी डलरको तुलनामा इजरायली शेकेलको मूल्य भएको जनाएको छ ।

दैनिक उपभोग्य वस्तु तथा सेवाहरु

२०२१ को विश्वव्यापी जीवनको लागत सूचकांक पत्ता लगाउन १७३ सहरहरुमा सर्वेक्षण गरिएको थियो । गतवर्षको तुलनामा ४० वटा बढी सहरहरुमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा २ सय दैनिक उपभोग्य वस्तुको मूल्यको तुलना गरिएको थियो । यो सर्वेक्षण बिगत ३० वर्षदेखि प्रत्येक वर्ष गर्ने गरिएको छ ।

‘इआईयू’ले आवश्यक तथ्याङ्क मार्च र सेप्टेम्वर महिनामा संकलन गर्ने गरेको छ । उक्त अध्ययनमा न्यूयोर्क सहरको जीवन लागत सूचकांकलाई आधार मानेर अन्य सहरसँग तुलना गरिएको छ । अमेरिकी डलरको तुलनामा बलियो मुद्राहरु भएको सहरहरु तालिकाको उच्च स्थानमा परेका छन् ।

ज्यूरिच र हङकङ सहर क्रमशः चौथो र पाँचौ स्थानमा परेका छन् । गत वर्ष यी सहरुहरु पेरिससँगै तालिकाको शीर्ष स्थानमा थिए । त्यस्तै न्यूयोर्क, जेनेभा, कोपेनहेगन, लस एन्जल्स, ओसाका पनि शीर्ष १० देशहरुमा परेका छन् । महँगो शहरको शीर्ष स्थानमा यूरोप र एसियाका विकसित देशहरु नै परेको देखिन्छ । सबैभन्दा तल्लो स्थानमा अफ्रिका र एसियाको कम विकसित सहरहरु रहेका छन् ।

महामारी समस्याहरु
‘इआईयू’ को रिपोर्ट अनुसार सूचकांकमा समेटिएको वस्तु तथा सेवाको मूल्य गत स्थानीय मुद्राको हिसाबले वार्षिक ३.५ प्रतिशतले बढेको छ, जसको दर गतवर्ष १.९ प्रतिशत मात्र रहेको थियो । विश्वब्यापी आपूर्ति श्रृङ्खलामा आएको समस्याले मूल्यवृद्धिमा ठूलो भूमिका खेलेको देखिन्छ । कोभिड १९ महामारी र सामाजिक प्रतिबन्धले अझै पनि विश्वभरको उत्पादन र ब्यापारलाई असर गरिरहेको छ ।

कोरोनाको नयाँ भेरियन्ट आइरहँदा यो समस्या तत्काल हल हुने कुनै सम्भावना भने छैन । तेलको मूल्यमा भएको अत्यधिक वृद्धिको कारण अनलेडेड पेट्रोलको मूल्यमा २१ प्रतिशत वृद्धि भएको रिपोर्टमा उल्लेख छ । त्यही अनुपातमा सूर्तीजन्य पदार्थ, मनोरञ्जनको सामग्री र व्यक्तिगत हेरचाहको सामग्रीको मूल्य पनि वृद्धि भएको प्रतिवेदनले देखाएको छ । सन् २०२१ मा सबैभन्दा बढी महँगी बढेको सहरमा इरानको तेहरान परेको छ । सूचीको ७९ स्थानमा रहेको तेहरान यो वर्ष सूचीको २९ स्थानमा उक्लिएको छ । यसको कारण अमेरिकी प्रतिबन्धको कारण सिर्जना भएको अभाव र उच्च मूल्य रहेको बताइएको छ ।

सिरियाको सहर दमास्कस फेरी एकपटक विश्वकै सबैभन्दा सस्तो सहर बनेको छ । जसको कारण सिरिया अहिले पनि युद्धग्रस्त अर्थतन्त्रसँग संघर्ष गरिरहनु हो । दमास्कस र तेहरानले २०२१ मा उच्च मुद्रास्फितीको सामना गर्यो ।

‘इआईयू’की प्रमुख उपासना दत्तले विश्वका अधिकांस देशको अर्थतन्त्र कोभिड विरुद्धको खोप आएपछि विस्तारै सुधार हुँदै गएको बताकएकी छिन् । तर अझै पनि विश्वका ठूला सहरहरुमा नयाँ भेरियन्टको कारण प्रतिबन्ध कायम नै छ । यसले सामानको आपूर्तिमा समस्या, मूल्यवृद्धि र अभाव निम्त्याएको छ । यस वर्षको सूचकांकमा खासगरी पेट्रोलको मूल्यवृद्धि भएको स्पष्ट रुपमा देख्न सकिन्छ ।

उपासना भन्छिन्, ‘सबै सहरमा भने मूल्य वृद्धि भएको होइन कती सहरहरुको मूल्य स्थिर र घटेको पनि छ । यस्ता मूल्य स्थिर र घट्ने सहरहरुमा अमेरिकी डलरको तुलनामा मुद्रा कमजोर भएका सहरहरु परेको छ । आउने वर्ष सूचकांक अझै बढ्नेछ किनभने ज्यालादर बढेको छ । केन्द्रीय बैङ्कहरुले सावधानीपूर्वक ब्याज दर बढाएमा मात्र मुद्रास्फितीलाई रोक्न सकिन्छ । यसो गरेमा मूल्यवृद्धि पनि मध्यम हुन सुरु हुन्छ ।’

यी हुन् सबैभन्दा महँगा १० सहर

१. तेल अभिभ, इजरायल
२. पेरिस, फ्रान्स
३. सिङ्गापुर
४. ज्यूरिच, स्विट्जरल्याण्ड
५. हङकङ
६. न्यूयोर्क
७. जेनेभा, स्विट्जरल्याण्ड
८. कोपेनहेगन, डेनमार्क
९. लस एञ्जल्स, क्यालिफोर्निया
१०. ओसाका, जापान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *