कांग्रेसका कान्छा वडा सभापति भन्छन् – ‘पार्टीको जग बलियो बनाउन लाग्छु’

सुर्खेत। आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसका विभिन्न तहको अधिवेशन धमाधम भइरहेको छ । यसै क्रममा नेपाली कांग्रेस सुर्खेतको चौकुने गाउँपालिका – १० को वडा सभापतिमा ज्वालाप्रसाद खनाल निर्वाचित भएका छन् । संस्थापन इतर समूहबाट निर्वाचित खनाल जिल्लाकै सबैभन्दा कान्छो सभापति हुन् ।

वडामा खनालबाहेक सबै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट वडा सभापतिमा निर्वाचित हुँदा २६ वर्षका खनालले प्रतिद्वन्द्वी लोकेन्द्र शाहीलाई दुई मतले हराए । खनाल पार्टीको तल्लो तह बलियो भए मात्रै माथिल्लो तह बलियो हुने बताउँछन् । ‘जग बलियो नभई पार्टीको उपल्लो संगठन पनि बलियो हुन सक्दैन । त्यसैले म जग बलियो बनाउन केन्द्रित भएको छु ।’ खनालले आफूले केही गर्छु भनेर सबैसँग मत मागेको र केही गर्नकै लागि राजनीतिमा होमिएकाले अब देखिने गरी नतिजा निकाल्ने योजना बनाइरहेको पनि बताए ।

सुर्खेतका ९९ वडा मध्ये सबैभन्दा कान्छो वडा सभापतिमा निर्वाचित खनाललाई राजनीतिमा लाग्ने प्रेरणा भने उनका भाइ हरिप्रसाद खनालले दिएका हुन् । पार्टीमा युवाको उपस्थिति र भूमिका कमजोर भएको निष्कर्ष निकाल्दै आफू ८ वर्षदेखि राजनीतिमा सक्रिय रूपमा लागेको खनालले बताए ।

उनले राजनीतिक यात्रा २०६९ सालमा नेपाल विद्यार्थी संघ सरस्वती मावि घाटगाउँको इकाई सभापतिबाट सुरु गरेका हुन् । विद्यार्थी राजनीति थालेपछि उनी तरुण दलको क्षेत्रीय संगठनमा आबद्ध भए । यस्ता जिम्मेवारीले बिस्तारै  थप जानकारी र राजनीतिक चेतना बढ्दै गएको उनी बताउँछन् ।

बिस्तारै उनी गाउँका हरेक समस्यालाई समाधान गर्न आफूसँगै युवालाई परिचालन गर्न थाले आए । केही वर्ष अघि शव बोक्ने गाडी नपाउँदा कर्णाली चिसापानीबाट छिमेकीको शव मोटरसाइकलमा बोकेर घाटगाउँ ल्याएको सम्झँदै युवा नलागी देशको विकास हुन नसक्ने भएकाले पनि राजनीतिमा लाग्ने निर्णय गरेको उनी बताउँछन् ।

२०७४ सालको स्थानीय चुनावमा हारेको चौकुने गाउँपालिका १० नम्बर वडालाई अब जिताउन वडा कार्यसमितिको बैठक मासिक रूपमा बसाल्ने योजना बनाएको खनालले बताए । साथै अक्षयकोष स्थापना, गाउँपालिका तथा वडामा नागरिकले पाउने सेवा सुविधाका बारेमा जानकारी तथा पहुँच बढाउने, अप्ठ्यारोमा परेका नागरिकहरूको काममा सहयोग र सहजीकरण, विभिन्न व्यक्ति र संघ संस्थासँग समन्वय गरी कोषको आकार बढाउने, वडा स्थित पार्टीका हरेक भातृ संघलाई चलायमान बनाउने लगायत मुख्य योजना रहेको खनालले बताए ।

भेरी र कर्णाली नदीले घेरिएको आफ्नो वडालाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पार्टीका सबै तहसँग समन्वय गर्ने र सबै युवालाई राजनीतिसँगै कुनै न कुनै व्यवसायमा आबद्ध गराउने अभियान पनि सञ्चालन गर्ने उनले बताए । आफूलाई विश्वास गरेर मत दिएका मतदातालाई अनुभव हुने गरी काम गर्ने र यसो गर्न सके स्थानीय स्तरमै कांग्रेसप्रति सकारात्मक धारणा बनाउन सकिने उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *