जो १ दिन जेल नबसेर १ वर्ष फरार भइन् …

पोखरा । उच्च अदालत पाटनले २०७७ पुस ५ गते एउटा फैसला गरेर एक महिलालाई एक दिनको जेल सजाय सुनायो ।
बेसीशहर नगरपालिका- ३ बसौला गाउँकी ३० वर्षीया प्रजिता गुरुङलाई बैंकिङ कसुरमा उजुरी दर्ता भएको थियो ।
अदालतले मिसिलहरू अध्ययन गरेर उनलाई १ दिन जेल र २ लाख जरिवाना तोक्यो । सोही दिनदेखि बेपत्ता भइन्, गुरुङ ।
फरार गुरुङलाई लमजुङ प्रहरीले करिब १ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेर अदालतमा पुर्याएपछि उनलाई जेल पठाइएको लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । ‘अदालतको फैसलाअनुसार कैद भुक्तान बाँकी रहेको अवधिका लागि लमजुङको जिल्ला कारागार पठाइएको छ,’ उनले भने ।
गुरुङले २ लाख रुपैयाँ भने यसअघि नै बुझाइसकेको प्रहरीले जनाएको छ । एक दिन कैद भुक्तान गरेपछि उनी रिहा हुने प्रहरीले जनाएको छ । अदालतको यस्तो फैसला निकै कम र कहिलेकाहीँ मात्रै हुन्छ ।








