सबैको सहयोगमा मात्रै अर्थतन्त्रको गुणात्मक विकास सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार‚ निजी क्षेत्र र सबैको सहयोगले मात्रै अर्थतन्त्रको गुणात्मक विकास सम्भव हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यसका अर्थतन्त्रको वृद्धिका लागि विदेशी विकास साझेदारको सहयोग तथा भूमिका समेत महत्वपूर्ण हुने बताए ।

कारोनाले अर्थतन्त्रमा निकै ठूलो असर गरेको भन्दै उनले पछिल्लो २ वर्षमा अर्थतन्त्रमा निकै असहज अवस्था आएको बताए ।

‘कारोनाका कारण आर्थिक वृद्धि न्यून भयो तर सधैँ कमजोर हुने छैन, सधैँ अप्ठ्यारोमात्रै हुनेछैन,’ उनले भने, ‘अहिले थोरै अँध्यारो भए पनि हामी उज्यालोलाई पर्खिरहेका छौँ ।’

लगानीको वातावरण सहज बनाउन र उत्पादन लागत घटाउन सरकारले भरपुर प्रयास गर्ने उनले बताए । अब दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको उनले बताए ।

पहिलो चरणको आर्थिक सुधारका क्रेमा केही वर्ष उत्साहपूर्ण रुपमा आर्थिक विकास भएको भन्दै उनले अब दोस्रो चरणको आर्थिक सुधार आवश्यक भएको बताए ।

आर्थिक विकासलाई गति दिन आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

नेपाल अति कम विकसित देश(एलडीसी)बाट स्तरोन्नति भएर विकासशील देशमा उक्लनु एक कक्षाबाट अर्को कक्षामा उक्लिएजस्तै भएको बताए ।

‘यो पहिलो सिँढीबाट दोस्रो सिँढी चढेजस्तै हो,’ उनले भने, ‘आर्थिक विकासको हाम्रो लक्ष्य प्राप्त गर्न अझै धेरै कक्षा पास गर्नुपर्नेछ । अरु धेरै सिँढी उक्लनुपर्नेछ ।’

उनले आगामी ५ वर्षमा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन पाएकाले उक्त अवसरलाई भरपूर प्रयोग गर्न सके आगामी १० वर्षभित्र मध्यम आय भएको मुलकमा स्तरोन्नति हुन सक्ने बताए ।

त्यस्तै, विसं. २१०० भित्रमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने दीर्घकालीन सोच पनि मुलुकले बनाएको उनले बताए ।

निजी क्षेत्र र अन्य सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै त्यो सम्भव हुने उनले बताए ।

कार्यक्रमा अर्थविद् अच्युत वाग्ले र राजीव उपाध्यायलाई सम्मान गरिएको छ । सेजनले प्रदान गर्ने अवार्ड यस वर्ष हिमाल खबर पत्रिकाका रमेशकुमार र अन्नपूर्ण पोष्टका सुनिता कार्कीले प्राप्त गरेका छन् । त्यस्तै, हाइड्र सोलुशन फेलोसिम हिमाल लम्साल र सञ्जय न्यौपाने रिसर्च ग्रान्ट सरस्वती ढकालले प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *