को हुन् भारतीय मूलका ट्विटरका नयाँ सिइओ ? यस्तो छ करिअर प्रोफाइल

काठमाडौँ । सोमबार ट्विटरका संस्थापक मध्येका एक समेत रहेका सिइओ ज्याक डोर्सले राजीनामा दिए । इमेल राजीनामाको ब्यहोरा ट्विटरमै हालेर उनले आफ्नो बहिर्गमनको सार्वजनिक जानकारी गराए । त्यसको ठिक एक दिनपछि मंगलबारबाट ट्विटरले नयाँ सिइओ पायो । सिइओ बने पराग अग्रवाल ।

भारतीय मूलका अग्रवाल ट्विटरमै कार्यरत थिए । ४५ वर्षका पूर्व सिइओको ठाउँमा ३७ वर्षे अग्रवाल आएका छन् । अग्रवाल प्राविधिक पक्षको कार्यकारी पद सीटीओको रूपमा ट्विटरमा सन २०१७ बाट कार्यरत थिए । त्यो पदमा पुग्नुअघि उनले विभिन्न पदहरूमा रहेका काम गरेका थिए । उनी ट्विटरमा रहेको दशक पुगेको छ । उनको रिसर्च इन्टर्नको रूपमा याहु र माइक्रोसफ्टमा काम गरेको अनुभव छ ।

यस्तो छ अग्रवालको शैक्षिक विगत
प्राविधिक क्षेत्रका पोख्त अग्रवाल भारतीय मूलका हुन् । भारतको आणविक ऊर्जा विभागमा काम गर्ने पिता र विद्यालय शिक्षिका आमाबाट राजस्थानमा जन्मिएका हुन अग्रवाल । उनी भारतीय चर्चित गायिका श्रेया घोसालसँगै पढेका कक्षामित्र हुन् । सन २००१ मा टर्किमा भएको अन्तर्राष्ट्रिय फिजिक्स् ओलम्पियाडमा उनी स्वर्ण पदक विजेता समेत हुन् ।

उनले भारतको प्रसिद्ध शैक्षिक संस्था आईआईटीबाट कम्प्युटर साइन्स र इन्जिनियरिङ विषयमा स्नातक र स्नातकोत्तर गरेका छन् । आइआइटीमा प्रवेश परीक्षा दिनेहरूमा ७७ औँ स्थानमा उनको नाम निस्किएको थियो । मुम्बईमा स्नातक अनि स्नातकोत्तर सकेर उनी स्ट्यान्डफोर्ड विश्वविद्यालय पुगेर विद्यावारिधि गरे । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्ट्यान्फोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्समै विद्यावारिधि गरेर उनले क्यालिफोर्नियामै रहेको ‘सिलिकन भ्याली’ क्षेत्रमा रहेका कम्पनीहरूमा इन्टर्नसिप गरेका थिए ।

सन २०११ मा एक औसत इन्जिनियरको रूपमा उनी ट्विटर प्रवेश गरेका थिए । ट्विटरका एक हजार कर्मचारी भएको समयमा उनी एक प्राविधिक थिए । मसिन लर्निङ क्षेत्रदेखि ट्विटरको व्यापार प्रवर्द्धनको क्षेत्रमा उनले विभिन्न भूमिकामा रहेर काम गरे । पत्नी विनीता अग्रवालका पति र एक छोराका पिता अग्रवाल ट्विटरको सिइओ भएकोमा भारतमा खुसीयाली छाएको छ । बीबीसीले अनलाइनको त्यो खुसीयालीको खबर प्रमुखताको साथ प्रकाशन गरेको छ ।

अग्रवालको ११ वर्ष पुरानो त्यो विवादित ट्विट
अहिले ट्विटरको सिइओ भएसँगै पराग अग्रवालको पुरानो ट्विटको पनि चर्चा बढेको छ । ११ वर्ष अगाडिको उनको त्यो ट्विट आफ्नै भाषा थिएन । अरूले भनेका कुरालाई कोट गरेर उनले पोस्ट ट्विट गरेका थिए ।

सन २०१० अक्टोबर २६ मा ५ः२९ मा उनले गरेको ट्विट अहिले चर्चामा छ । भारतीय मात्रै हैन विश्वभरमा पराग अग्रवाल बारेमा चासो राख्ने र आलोचना गर्नेहरूले त्यो पुरानो ट्विट चर्चामा ल्याएका छन् । साभार गरिएको उनको ट्विटमा भनिएको छ, ‘यदि उनीहरूले मुस्लिम र अतिवादीको बारेमा फरक देख्दैनन् भने मैले किन श्वेत र नस्लवादीबिचमा फरक देख्नु ?’

यो ट्विटलाई लिएर धेरैले उनी वामपन्थी भएको भनेका छन् । कसैकसैले भने उनी नस्लवादी हुन समेत भन्न भ्याएका छन् ।

विश्वका शीर्ष प्राविधिक कम्पनीमा भारतीय मूलका सिइओ
मंगलबार ट्विटर सिइओ भएका अग्रवाल मात्रै भारतीय मूलका प्राविधिक कम्पनीका सिइओ हैनन् । अरु धेरै भारतीयहरु त्यो क्षेत्रमा सफल छन् । जस्तै, गुगलको अभिभावक कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाइ भारतीय मूलका हुन् ।

माइक्रोसफ्टका सिइओ सत्य नादेला पनि भारतीय मूलका हुन । आइबिएमका सिइओ अर्भिन्द कृष्ण पनि भारतीय मूलकै हुन् । भिमीओकी अन्जली सुद समेत भारतीय मूलकी हुन् । यस्तै, एडोबका सन्तनु नारायण, माइक्रोन टेक्नोलोजीका संजल मल्होत्रा, पालो आल्टो नेटवर्कका निकेश आरोरा पनि भारतीय मूलकै हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *