धनगढीमा पहिलोपटक सवारी साधनमा ‘ह्वील लक’, ठाउँको ठाउँ कारबाही

धनगढी । धनगढीमा सवारी चाप बढेसँगै अस्तव्यस्त बनेको ट्राफिक समस्या समाधानका लागि ट्राफिक प्रहरीले कडाइ गर्न सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पहिलोपटक ‘नो पार्किङ’ क्षेत्रभित्र गाडी पार्क गरेमा ‘ह्वील लक’ गर्न सुरु गरेको हो ।

सोमबार ट्राफिक प्रहरीले धनगढी उप-महानगरपालिकाको मुख्य बजार क्षेत्रमा आकस्मिक चेक जाँच गर्दै अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनहरूमा ‘ह्वील लक’ गरेको छ ।

धनगढी उप-महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तरिकाले पार्किङ गरिएका सवारी साधनमा ‘ह्वील लक’ गर्दै सोही ठाउँमा कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।

सवारी चाप बढी हुने हस्पिटल लाइनदेखि एलएन चौक क्षेत्र, ट्राफिक चौराहादेखि बसपार्क क्षेत्रको जाम घटाउन ट्राफिक चेकजाँचमा कडाइ गरिने प्रहरी निरीक्षक सिंहले बताए ।

उनका अनुसार ह्वील लक गरिएको गाडीमा सवारी धनीको जानकारीको लागि सवारीमा कारणसहित स्टिकर टाँस गरिनेछ । सवारी धनी सोही स्थानमा भेटिएमा ठाउँको ठाउँ कारबाही गरेर जरिवाना र सम्झाइबुझाई गरिनेछ ।

यदि सवारी धनी सोही ठाउँमा नभेटिएमा टाँसिएको सूचनाअनुसार कार्यालयमा आउनेछन् र कारबाहीको भागिदार बन्नेछन् ।

यसैगरी ट्राफिक प्रहरीले साँझ ५ बजेदेखि ७ बजेसम्म ‘सरप्राइज’ मापसे चेकिङ पनि गरिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *