कर्णालीका सात जिल्लामा देउवा समूह बलियो 

सुर्खेत । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लाको अधिवेशन सकिएको छ । यस पटकको जिल्ला महाधिवेशनमा शेरबहादुर देउवा पक्षले वर्चश्व जमाएको छ । १० जिल्ला रहेको कर्णाली प्रदेशलाई पौडेल समूहको बलियो गढ भनिए पनि अहिलेको अधिवेशनमा देउवा पक्ष हाबी भएको हो ।

कर्णालीका सात जिल्लामा देउवा समूहको र बाँकी तीन जिल्लामा मात्रै पौडेल समूहको नयाँ नेतृत्व चुनिएको छ ।  कांग्रेस जिल्ला सभापतिका लागि केही जिल्लामा निर्वाचन भएको हो भने केही जिल्लामा सर्वसम्मत नै नेतृत्व चयन गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार देउवा समूहबाट सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, मुगु, जुम्ला र हुम्लाले सभापति पाएको छ भने रुकुमपश्चिम, दैलेख र कालिकोट जिल्लाले पौडेल समूहबाट सभापति पाएको छ ।

यस्तै कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा देउवा समूहबाट सभापतिमा खड्ग पोखरेल निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्य समितिका लागि सभापतिमा पोखरेलबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा रामचन्द्र पौडेल समूहबाट कुनै व्यक्ति निर्वाचित नभएपछि पोखरेलको एकल उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले शनिबार राति नै सभापतिमा पोखरेललाई निर्विरोध निर्वाचित घोषणा गरेको हो भने पोखरेल संस्थापन पक्ष अर्थात् देउवा समूहका हुन् । यस्तै जाजरकोटमा देउवा समूहबाट जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत नै चयन भएका छन् भने अन्य पदाधिकारीमा देउवा पक्ष र पौडेल पक्षको सम्मान सहभागिता रहेको छ । यस्तै सल्यान जिल्लाको सभापतिमा देउवा पक्षका केशबहादुर विष्ट निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका ध्रुवराज पुरीलाई पराजित गरेका हुन् ।

यस्तै साबिक कर्णाली अञ्चलका हिमाली जिल्ला डोल्पाको कांग्रेस सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । शाहीले चुनावी मैदानमा सभापतिका लागि दाबेदार गरेका अंगत बुढा, गौरीशंकर उपाध्याय र देवकुमारी हमाललाई पछाडि पार्दै निर्वाचित भएका हुन् । नव निर्वाचित शाही पनि संस्थापन पक्षबाट सभापति बनेका हुन् ।

बाँकी तीन जना प्रतिस्पर्धी अंगत बुढा पौडेल पक्षका नेता हुन् भने देवकुमारी हमाल र  गौरीशंकर उपाध्याय देउवा पक्षमा उम्मेदवार बनेका थिए । यस्तै मुगु जिल्लामा संस्थापन पक्षका ऐनबहादुर शाही पार्टी सभापतिमा निर्वाचित भएका छन् । भने जुम्लामा कर्णबहादुर शाही कांग्रेस जिल्ला सभापति बनेका छन् । मुगु र जुम्लाका निर्वाचित सभापति पनि संस्थापन देउवा समूहका नेता हुन् । जुम्लाका सभापति कर्णबहादुर शाहीले पौडेल पक्षका दीपबहादुर शाहीलाई ५ मतले पराजित रगेका थिए ।

यस्तै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्लामा संस्थापन पक्षबाट मोहनविक्रम सिंह सभापति बनेका छन् । हुम्लामा यसअघि पनि संस्थापन पक्षकै जयपति रोकाया पार्टी सभापति थिए । त्यस्तै बाँकी कर्णालीका तीन जिल्लामा पौडेल समूहले जिल्ला सभापतिको जिम्मेवारी पाएको छ । जस मध्ये रुकुमपश्चिम र कालिकोटको नेतृत्व सर्वसम्मत भएको छ भने दैलेखमा शनिबार भएको निर्वाचनमा आइतबार साँझ ६ मात्रै मतगणना सकिएर अन्तिम नतिजा आएको छ

जसमध्ये कालिकोटमा पौडेल पक्षका नेता अम्मरबहादुर शाही सर्वसम्मत रूपमा सभापति चयन भएका छ । उनी देउवा र पौडेल पक्षका नेताको समर्थनमा सभापति बनेका हुन् । यस्तै रुकुमपश्चिममा पौडेल पक्षबाट ओमप्रकाश ओली पार्टी जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् भने अन्य पदाधिकारीहरूमा देउवा समूह र पौडलले समूहका नेताहरूको समर्थनमा नयाँ नेतृत्व चयन भएको छ ।

यस्तै दैलेखमा आज (आइतबार) सकिएको मतगणनामा नेपाली कांग्रेस दैलेखको सभापतिमा वरिष्ठ नेता पौडेल समूहबाट मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले सात सय ९१ मत प्राप्त गरे सँगै सभापति पदमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका घनश्याम भण्डारीलाई ३७ मत अन्तरले पछि पार्दै रेग्मी सभापतिमा निर्वाचित भएको निर्वाचन समिति दैलेखले जनाएको छ । भण्डारीले सात सय ५४ मत ल्याएका थिए । अन्य पदाधिकारी पनि रेग्मी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

तस्बिर : दैलेख कांग्रेस सभापति विजेता मणिराम रेग्मी (दायाँ), उपविजेता घनश्याम भण्डारी (बायाँ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *