उपल्लो डोल्पामा मेरो शिक्षण अनुभव

काठमाडौं । दुई वर्ष ‘टिच फर नेपाल’को फेलोसिपबाट धेरै कुरा सिक्ने मौका पाएँ । धेरै कुराको अनुभव भयो । शिक्षकका रुपमा सिन्धुपाल्चोकको तालमाराङमा मैले विद्यार्थीलाई सिकाइन मात्र मैले स्वयं धेरै कुरा सिक्न पनि पाएँ ।  म सधैँ आफूले जे जे चाहेको थिएँ, स्कुलमा विद्यार्थीलाई त्यही कुरा गर्न र सिकाउन पाए कस्तो हुन्थ्यो होला भनेर सोचेको थिएँ तर त्यो सबै गर्नै मौका पाएको थिइनँ । र मेहनत पनि त्यहीअनुसार गरेको थिइनँ । रातदिन नभनी योजनाहरू बनाउँथेँ । र त्यसलाई कसरी साकार पार्ने होला भनेर घोत्लिइरहन्थेँ ।

क-कसको सहयोग माग्दा त्यो योजना पूरा होला भनेर सोच्थेँ । र ती व्यक्तिसँग सहयोग माग्नमा पछि हट्दैनथेँ । उहाँहरूले साथ पनि दिनुहुन्थ्यो । त्यसैले दुई वर्षको फेलोसिपमा मैले श्री तेर्से माध्यमिक विद्यालय तालामराङ, सिन्धुपाल्चोकमा विद्यार्थीको जीवनमा लामो समय प्रभाव पार्ने खालको काम गर्ने मौका पाएँ भन्ने लाग्छ । अब ती विद्यार्थी कस्ता बन्नेछन् ? जीवनमा के के गर्नेछन् ? कसरी समाजको अभिन्न अङ्ग बन्नेछन् ? भन्ने कुराको प्रतिफल चाहिँ केही वर्षको प्रतीक्षापछि मात्र पाइनेछ ।

मैले त्यतिबेला पढाएका विद्यार्थी यो वर्ष कक्षा १२ को परीक्षाको परीक्षाफलको पर्खाइमा छन् । मैले त्यहाँ त्यसरी पढाउँदा विद्यार्थीको सोच विचारलाई फराकिलो पार्न के के गर्न सकिन्छ भनेर सकेको जति गर्ने प्रयत्न गरेँ ।

सिन्धुपाल्चोकको अनुभव र त्यहाँ हुँदा गरेकै जस्तो शिक्षक क्रियाकलाप नेपालका अन्य विकट क्षेत्रका विद्यार्थीलाई सिकाउन पाए हुन्थ्यो भन्ने सोच्दासोच्दै मैले पढाउनकै लागि माथिल्लो डोल्पा जाने निधो गरेँ ।

भौगोलिक रूपमा विकट र विकासको दृष्टिकोणबाट पनि पछि परेको डोल्पाको समाज, रहनसहन, खानपिन, कामकाजलगायत बारे जान्न र आफूले जानेका कुरा विद्यार्थीसँग बाँड्न मैले त्यहाँ जाने निर्णय गरेको थिएँ। अहिले शिक्षकका रूपमा कलिला बालबालिकालाई केही सिकाउन सके भोलि उनीहरू जहाँ गएपनि जे गरेपनि केही न केही सिकाइ हुन्छ भन्ने आशाले मलाई डोल्पा जान प्रेरित गरेको थियो । अप्रिल ७, २०२१ को दिन हामी काठमाडौँबाट माथिल्लो डोल्पाको लागि हिँड्यौँ।

दोस्रो लकडाउन हुने हल्लाका कारण जहाजको टिकट पाउन सकेनौँ । जिप र बसको सकसपूर्ण चार दिने यात्रापछि डोल्पाको सदरमुकाम दुनैमा पुग्यौँ । त्यसपछि ३ दिनको उकालो-ओराली यात्रा गर्दै अप्रिल १३ मा अपर डोल्पाको धोतरापमा रहेको क्रिस्टल माउन्टेन स्कुलमा पुग्यौँ । विभिन्न आशा, सपना, खुलदुली र उमङ्गको उडानमा थिएँ म । त्यहाँको ठाउँ र विद्यार्थीका लागि म नौलो थिएँ । मेरा लागि उनीहरू नौला थिए ।

शिक्षक र विद्यार्थीले त्यहाँको रितिरिवाज अनुसारले हामीलाई स्कूलमा स्वागत गरे। चिसो निकै थियो । हामीले ‘भोटे चिया’ खायौँ। हामी गएको दुई दिनमा बाक्लो हिउँ पर्‍यो । हिउँ परेपछि पूरै सेताम्मे हुँदा आँखा दुख्ने रहेछ भन्ने त्यहाँ गएपछि मात्र थाहा पाएँ। त्यहाँ पुगेको दिनै मैले चाल पाइसकेको थिएँ कि, खानाका लागि मलाई दुःख हुनेछ । त्यहाँ फल्ने उवा मेरा लागि बिल्कुलै नयाँ कुरा थियो । नामै पहिलो पटक सुनेको । अनि अर्को भनेको आलु। आलु त मन पर्छ तर सधैँ एउटै खानुपर्ने कुरा सोच्दा पनि वाक्कै लाग्ने। अनि दाल पनि सधैँ एउटै किसिमको । धन्न ग्रीनहाउस भएर काउली, बन्दा, साग, फर्सी‚ टमाटरलगायत पनि फल्छन् भन्ने सुनेपछि अलि राहत भयो ।

मलाई अचम्म लागेको कुरा भनेको चाहिँ धेरै खुर्सानी खाने डोल्पालीको बानी हो । बरु तरकारी नभए पनि हुने तर खुर्सानी चाहिँ रातो‚ हरियो जस्तो भए पनि अनिवार्य चाहिने । म त पिरो कहिल्यै पनि नखाने मान्छे । खानामा अलि समस्या नै पर्‍यो । ४०९० मिटरको उचाइमा अवस्थित हाई अल्टिच्युडमा रहेको विश्वकै पहिलो मानव बस्तीमा सामानहरू तीन दिन लगाएर खच्चडमा बाँधेर सदरमुकामबाट ल्याउनुपर्ने र त्यसको मूल्य साह्रै महँगो हुन भएकाले अरु खानेकुराको पनि सकस । यहाँ चम्पाको धेरै प्रयोग हुँदो रहेछ। यो पिठोजस्तै हुन्छ, उवाबाट बनेको । यो मनतातो पानीसँग घोलेर खाइन्छ । मलाई पनि मिठो लाग्यो। चम्पाबाट बन्ने अर्को परिकार ठुक्पा हो ।

चम्पालाई उम्लेको पानीमा पकाइन्छ, त्यसभित्र चौरीको छुर्पी हालिन्छ र आफूलाई मनपरेअनुसारको मासु, सागसब्जी हालेर पनि खाने गरिन्छ। अर्को परिकार चाहिँ फापरको रोटी । यी केही लोकल परिकारहरू हुन् यो ठाउँमा पाइने । यहाँको अर्को मौलिक खानेकुरा भनेको भोटे चिया‚ जुन उमालेको पानीमा अलिकति दूध, नुन अनि बटर मिसाएर बनाइन्छ। चौँरीको दूधबाट बनेको छुर्पी असाध्यै मिठो हुन्छ । मैले डोल्पा बसाइका सात महिनामा धेरै छुर्पि खाएँ । दूध,दही, मोहीको कुरा त भुल्नै सकिँदैन । मलाई चाहिँ फेरि दूध,दही,मोही साह्रै मनपर्ने कुरा थाहा पाएपछि मलाई विद्यार्थीले बेलाबेलामा दही र मोही ल्याइदिन्थे । हामी त्यहाँ गएको केही दिनमै स्कूल नियमित सञ्चालन भयो ।

सबै शिक्षकसँग मिटिङ बस्यौँ‚ जसमा स्कुल कसरी सञ्चालन गर्ने,कस्ता क्रियाकलापहरू गर्ने,को को शिक्षकले के के जिम्मा लिने भन्ने विषयमा छलफल भयो। मैले लिटरेचर क्लब हेर्ने जिम्मा लिएँ । हाम्रो स्कुलमा चार वटा सदन अर्थात् हाउस छन्। जसको नाम सा, छु, मेह, लुङ हो । मैले ‘मेह’ सदनको सदन शिक्षकको जिम्मा लिए । यसबाहेक हाम्रो स्कूलमा इको क्लब, डान्स, म्युजिक क्लब, स्पोर्टस क्लबलगायत छन् । स्कूलको टाइमपछि हामीले ‘अफ्टर स्कूल’ सञ्चालन गर्‍यौँ‚ जसमा विद्यार्थीलाई उनीहरूको सम्पूर्ण व्यक्तित्व विकासका लागि विभिन्न कुरा गर्‍यौँ र सिकायौँ । आलोपालो गरेर  विद्यार्थीले क्लबको पनि काम गर्थै र सिक्थे।

हामीले व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, रेडियो जक्की, भिडिओ मेकिङ, एडिटिङलगायतका कक्षा पनि सञ्चालन गर्‍यौँ ।  बेलाबेलामा हामीले ‘टक सेरिज’ पनि सञ्चालन गर्‍यौँ‚ जहाँ कुनै अतिथिलाई बोलाएर विद्यार्थीलाई कार्यक्रम चलाउन लगाउँथ्यौँ । अरू ठाउँमा वैशाखदेखि चैतसम्मको समय हुन्छ । तर हामीसँग मात्रै सात महिनामा कोर्स सक्नुपर्ने चुनौती हामी सबैलाई थियो। पूरै सात महिना पनि पढाउन पाइँदैन किनभने मे, जुनमा यार्सागुम्बा टिप्ने बेला हुन्छ। सबै गाउँले र विद्यार्थी पनि यार्सागुम्बा टिप्न जान्छन् । २०/२२ दिन स्कूल बिदा हुन्छ। अरू बेला उवा रोप्ने र काट्ने बेला कम्तीमा पनि दुई-दुई दिन र हिउँ धेरै परेका बेला स्कूल बिदा हुन्छ।

यो सबै चुनौतीकाबीच मैले सातदेखि १० कक्षासम्मलाई अङ्ग्रेजी र कक्षा आठमा स्वास्थ्य शिक्षाको कोर्स सकेँ । मैले कक्षामा कहिले लेक्चर‚ कहिले ड्रामा त कहिले विद्यार्थीलाई नै शिक्षक बन्न लगाएर पनि सिकाउने तरिका अपनाएँ । कहिले भिडिओ त कहिले कन्फरेन्सबाट पनि कक्षा लिने अभ्यास गराएँ । म प्रायः विद्यार्थीलाई विभिन्न कुराको भिडिओ देखाउँथेँ, कहिलेकाहीँ फिल्महरू पनि देखाउँथेँ । युट्युबबाट मोटिभेसनल भिडिओ, डकुमेन्ट्रीहरू डाउनलोड गरेर देखाउँथेँ ।

मैले पढ्ने विभिन्न किताबबाट राम्रो लागेका कुराहरू विद्यार्थीलाई सुनाउन थालेँ । स्कूलमा पहिलो पटक लिटरेचर फेस्टिभल पनि मनायौँ । जहाँ कथा‚ कविता लेखनको वर्कसप गर्‍यौँ । नेपाली,अङ्ग्रेजी, तिब्बती किताबहरूको स्टल राखी ‘रिडिङ सेसन’ चलायौँ । पहिलो पटक यस्तो कार्यक्रम स्कूलमा हुँदै थियो । सबै जना खुसी थिए । म पनि दङ्ग थिएँ यस्तो फेस्टिबलको समन्वय गर्न पाउँदा ।

अर्को खुसीको कुरा के रहन गयो भने मेरो पहलमा विद्यालयमा रिडिङ कक्षा भनेर हप्तामा एउटा पिरियडभरि हरेक विद्यार्थीले किताबहरू पढ्ने मौका पाउन थाले । विद्यार्थीमा पढ्ने बानी कम भएकाले उनीहरूको पढाइमा असर गर्ने गरेको थियो । यो कक्षाले उनीहरूलाई पढ्ने बानीको विकास गराउन केही सघायो । म बेला बेला विद्यार्थीहरूसँग घुम्न पनि गएको छु।

हामी आफ्नो बस्तीभन्दा धेरै टाढाको भेडा‚ बाख्रा,घोडा चराउने ठाउँ रमनमा गयौँ । मैले अनुभव गर्न पाएको अर्को नौलो कुरा भनेको याकको गोबर र घोडाको  लादी सुकाएर गुइँठा बनाएर खाना बनाएको कुरा पनि हो । याक जीवनमा पहिलो पटक मैले यहीँ आएर देखेको हुँ । गाउँले गोबर टिप्न हिमालतिर जान्छन्,अनि पछि सोहोरेर सुकाउँछन् । अनि पछि भन्छामा प्रयोग गर्छन् । यहाँको इन्धन भनेकै याकको गोबर हो । ग्यास,मट्टितेल पाउन यहाँ गाह्रो छ र फेरि किन्न पनि साह्रै महँगो छ । खच्चडमा बाँधेर ल्याउनुपर्छ ।

याकको गोबर बिना यो ठाउँमा गुजारा चलाउन गाह्रो छ । भोकै बस्नुपर्ने अवस्था हुन्छ । म पनि एक दिन गोबर टिप्ने अनुभव लिन उनीहरूसँगै हिमाल उक्लेको थिएँ । साह्रै गाह्रो हुँदो रहेछ । जे होस् बेग्लैखालको अनुभव भयो । याक र यहाँका मानिस एक अर्काका परिपूरक हुन् । याकजस्तै यहाँका मानिस बलिया, सोझा र मिलनसार छन् ।

यो ठाउँका मानिसको व्यापार वा भनौँ कमाइ भनेकै यार्सागुम्बा हो। यो बेचेर वर्षभरि चाहिने समानहरू किन्छन् । म पनि एक दिन यार्सागुम्बा टिप्न हिमाल गएँ । निक्कै गाह्रो हुन्छ यो टिप्न । आँखा तेजिलो हुनुपर्छ र धीरता निकै नै चाहिन्छ । कुनै कुनै दिन त एउटै पाउन पनि गाह्रो हुन सक्छ । अनि अर्को भनेको उवासँग अरू कुराहरू जस्तै कपडा, चामल, तेल लगायतका सामानहरू पनि साटिन्छ ।

यहाँका केही व्यक्तिले खच्चड चलाउँछन् । यसरी नै यहाँका मान्छेले आम्दानी जुटाउँछन् । जीवनशैली एकदमै सरल छ। मलाई यहाँका नागरिकसँग नागरिकता बनाउने बेलामा सरकारी कर्मचारीले लापरबाही गरेको जस्तो लाग्यो। कसैको थरमा गुरुङ लेखेको छ, कसैको थापा । मनलाग्दी थरहरू थप्दिएका छन्। यसले पछि अन्य सन्ततिलाई असर नगर्ला भन्न सकिन्न । र पहिलाका थर भएका व्यक्तिसँग मतभेद निम्त्याउने डर पनि छ । एउटा इतिहास बोकेको जातिलाई अर्कैमा राखि दिनाको पिडा र व्यथा पनि बढ्दै जान सक्छ । यो गम्भीर विषयमा किन हेलचेक्र्याइँ गरेको होला ?

यहाँ मानिसले लगाउने लुगा ‘छुवा’ हो । जाडोमा लोक्पा लाउँछन्, जुन एकदमै बाक्लो हुन्छ, भित्र ऊनले बनेको । यहाँको मुख्य चाड ल्होसार हो । मैले प्रत्यक्ष अनुभव गर्ने मौका पाएको भनेको चाहिँ ‘निशम्बा’ हो। यो एक प्रकारको तीर्थ जाने मेला जस्तो हो । यो टाक्सीको ठाउँ हुँदै, शुलाकबाट माथि हिमाल उक्लिएर फेरि धो हुँदै एक चक्कर घुमिन्छ । अर्कोचाहिँ ‘मनीसोक्पा’ हो। यो ‘धो’ भन्ने ठाउँमा मनाइन्छ । यतातिर मानिस जन्मिँदा  लामाले नाम राख्ने चलन रहेछ ।

प्रायः बच्चाहरूको नाम बारको नामबाट राखिँदो रहेछ । आइतबार जन्मिने बच्चाको नाम निमा, सोमबार जन्मिनेको दावा, मङ्लबार जन्मिनेको मिङमार, बुधवार जन्मिनेको लाक्पा, बिहीबार जन्मिनेको फुर्वा, शुक्रवार जन्मिनेको पाल्साङ र शनिबार जन्मिनेको नाम पेम्बा राखिँदो रहेछ । यो नाम केटाकेटी दुवैलाई एउटै हो । पछाडिको नामचाहिँ फरक हुन्छ । जस्तै केटाको नाम पाल्साङ दोर्जे हुनसक्छ भने केटीको नाम पाल्साङ ल्हामो हुन सक्छ। मानिसको मृत्यु भइसकेपछि तीन तरिकाले अन्त्येष्टि गर्ने चलन रहेछ। एउटा‚ टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउने चलन रहेछ भने अर्को जलाउने र गाड्ने ।

समर सिजनमा उवा रोपेको हुँदा जलाउँदैनन्,त्यसले नराम्रो असर पर्न सक्छ भन्ने मान्यता रहेछ । बरु लामा बोलाइ टुक्राटुक्रा पारेर गिद्धलाई खुवाउनका लागि दिँदा रहेछन् । म बसेको ठाउँमा दुई वटा गाउँ छन्। धो र टाक्सी । हाम्रो स्कूलमा त्यही दुई वटा गाउँका धेरै बच्चाहरू पढ्न आउँछन् । कोही कोही मात्र तल्लो डोल्पाका छन् । दुई चार जना दलित समुदायका विद्यार्थी छन् । यो ठाउँ एक हिसाबले स्वर्गको नमूना पनि हो । तर अर्को हिसाबले भन्नुपर्दा यहाँ गरिबी पनि उत्तिकै छ ।

शिक्षाको महत्त्व अझै पनि धेरैले बुझेका छैनन् । प्रायः अभिभावकले पढेका छैनन् । खेतीपाती गर्छन्, याक, घोडा, खच्चडको हेरचाह गर्छन् । बरु छोराछोरीले खेतको काम,घरको काममा सहयोग गर्दिए हुन्थ्यो भन्ने मनाशयपनि कति अभिभावको हुँदो रहेछ । हाम्रा केही केही बाहेक धेरै विद्यार्थीले पढाइको महत्त्व अझै थप बुझ्नपर्ने छ । यो समस्या अन्य ठाउँमा पनि छ । मैले पढाएको सिन्धुपाल्चोकमा पनि यो समस्या थियो ।

शायद यो बुझाउन नसक्नु हामी शिक्षकहरूको पो कमजोरी हो कि ? हामीले पढाउनुलाई केवल जागिरसँग मात्र तुलना गर्‍यौँ कि ?  तलब पाउने माध्यम मात्र सोच्यौँ कि ? शायद यो अभिभावकको पनि कमजोरी हो कि ? शायद यो समाजको  या सरकारवाला या त राज्यको कमजोरी हो कि ? खैर, यो सब हुनुमा हामी सबैको कुनै न कुनै रूपमा कमजोरी त छ नै । हाम्रा बालबालिकाहरू धेरैले उच्च शिक्षा हासिल नै नगरी पढाइ छाडिदिन्छन् । धेरैले नौ–दश कक्षामा पनि नपुगि पढाइ छाडिदिन्छन् । विकसित  देशका नागरिकको तीन चार पुस्ता पहिला नै प्रायः मानिसहरू कलेज गइसकेका हुन्छन् ।

मैले मेलिन्दा गटेस्को किताब पढेको थिएँ‚ त्यहाँ उनले आफ्नो पूर्वपति बिल गेट्स कसरी बिल गेट्स हुन पुगे भन्ने कुराको बारेमा लेखेकी छन् । किताबमा लेखिएअनुसार बिल गेट्सकी हजुरआमाले कलेज पढ्की थिइन र उनी खेलकुदमा पनि उत्तिकै अब्बल थिइन् । यसबाट पनि हामीले अनुमान गर्न सक्छौँ कि पढेको दुई/तीन पुस्ताअघिको सन्तान हुनु र कहिल्यै पनि पढाइ पूरा नगरेको पुस्ताको सन्तान हुनुमा आकाश-जमिनको फरक पर्दो रहेछ। हाम्रोजस्तो देशमा परिवर्तन ल्याउन अझै केही पुस्ता पर्खिनुपर्ने हुन्छ ।

मानिलिऊँ यदि अहिलेको पुस्ताले राम्रो उच्च शिक्षा पाए, र त्यसपछिको पुस्ताले पनि राम्रो शिक्षा पाएर केही ठुलो विकासका योजना, शिक्षा, स्वास्थ्य, सूचना‚ टेक्नोलोजी, योजनामा अगाडि बढ्न खोजे र त्यसपछिको तेस्रो पुस्ताले पनि त्यो आफूभन्दा अगाडिको पुस्ताको सपना र आफ्नो नयाँ सपना अनि पढाइलाई अगाडि बढाउँदै लग्यो भने मात्र चौथो पुस्ताको बेलामा नेपाल विकासको बाटोमा प्रवेश गर्ला।

जुन देशको पुस्ताले पढाइको महत्त्व बुझ्दैनन् र ज्ञान हासिल गर्न अगाडि पर्दैनन्, मेहनत गर्दैनन्, ठुलो सपना देख्दैनन्, त्यसलाई साकार पार्न अहोरात्र खट्दैनन्,इन्टरनेसनल नेटवर्क र सम्बन्ध दुरुस्त पार्दैनन्, एकअर्कालाई सहयोग गर्दैनन्,सिक्दैनन्,सिकाउँदै अगाडि बढ्दैनन्,नयाँ नयाँ कुराको अनुसन्धान गर्दैनन्, तबसम्म न आफू बनिन्छ,न त घर बन्छ, न समाज,न राष्ट्र नै ।

हामीले अहिले केही नगरे भोलिको पुस्ताबाट के अपेक्षा गर्ने ? हामी अहिले राम्रो रोल मोडेल हुन सकेनौँ भने हाम्रा बालबालिका ठूला भएपछि त्यसपछिको अर्को पुस्ताले कसलाई हेरेर अगाडि बढ्ने ? यो सब सरोकारवालाहरू गम्भीर भएर बहस  गर्नुपर्ने विषय हो । अगाडि बढ्नुपर्ने समय हो। काम गर्ने समय हो। नेपालको शिक्षालाई बलियो बनाउनुपर्ने समय हो।

निजी र सरकारी स्कूलको अन्तरलाई जतिसक्दो चाँडो हटाउनुपर्ने समय हो। विभिन्न सरकारवालाहरूसँग मिलेर शिक्षामा नयाँ नयाँ काम गर्दै अहिलेका पुस्तालाई तयार पार्ने समय हो। हामीभन्दा अगाडिको पुस्ताको अनुभव, उहाँहरूको भोगाइ, उहाँहरूको सफलता,उहाँहरूको सपना,योजनालाई हातेमालो गर्दै अगाडि बढ्ने समय हो। हामीसँग थोरै समय छ। नत्र त लाखौँ मानिस विदेश छन् । हामी पनि पलायन हुने दिन नआउला भन्न सकिन्न । हाम्रो इतिहास मेटिएरै जाला भन्ने दिन नआउला भन्न सकिन्नँ ।

एउटै मात्र कुरा पढेर,सिकेर,कामसमेत एउटै खालको गरेर मात्र पुग्दैन। एउटा मनिसलाई जीवन चलाउन धेरै कुराको अनुभव र सीप चाहिन्छ। म अहिले हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुका साथै, विभिन्न कुराको अनुभव र अवसरहरू पाउनुपर्छ भन्ने सङ्कल्पमा छु ।  मेरो उद्देश्य भनेकै धेरै विद्यार्थीको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही सकारात्मक छाप छाड्न सकूँ‚ उनीहरूलाई हौसला बढाउन सकूँ‚ उनीहरूलाई धारिलो बनाउन सकूँ,सोच्न सक्ने बनाउन सकूँ,जीवनको हरेक सपना र चुनौतीलाई सम्मान गर्न सक्ने खुबी विकास गर्न सकूँ,जिन्दगीलाई चलाउन विभिन्न सीपहरू चाहिन्छ‚ त्यो सबै सिकाउन सकूँ भन्ने छ। त्यसका लागि म आफैँले धेरै कुराहरू जान्नु र सिक्नुपर्नेछ ।

अझै आफ्नो सिकाइ र शिक्षा फराकिलो पार्नुपर्नेछ । मलाई एजुकेसन सेक्टरमा लामो समय काम गर्ने चाहना छ। त्यो भएर मास्टर्स गर्न एजुकेसन फिल्डमै उच्च शिक्षा लिन चाहन्छु । धेरै योजनाहरू छन्,धेरै सपनाहरू छन्,काम गर्ने जोस र जाँगर छ।समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी छ । आफ्नो अनुभव र सिकाइहरू बाँड्न मन छ। सबैको साथ चाहिएको छ। हरेकलाई अवसर दिलाउने चाहना छ । नेपालको हिमाल र पहाडका विद्यालयमा शिक्षणको अनुभव प्राप्त गरेँ । अब नेपालकै तराई र शिक्षा प्रणाली राम्रो भएको विदेशको कुनै एक विद्यालयको अनुभव लिन मन छ ।

यो सबै शिक्षा क्षेत्रबाट मात्रै सम्भवछ। राम्रो लिडर, मन्त्री, शिक्षक, धर्मगुरु, असल अभिभावक, डाक्टर, कस्टमको अफिसर, पुलिस, आर्मी, नर्स, वैज्ञानिक,  लेखक, पत्रकार, ड्राइभर जे जति छन्‚ ती सबै नै शिक्षाकै उपज हुन् । एउटा राम्रो अभिभावक बन्न पनि शिक्षा चाहिन्छ। हामीले मानिसले बच्चा कसरी जन्माउने भन्ने कुरा सिक्यौँ तर राम्रो प्यारेन्ट्स कसरी बन्ने भन्ने कुराको शिक्षा लिएनौँ भन्ने लागेको छ । त्यो सिक्ने शिक्षा अनिवार्य लिनुपर्छ जस्तो लाग्छ। कतिपय विद्यार्थीलाई हेर्छु,उनीहरूको अभिभावकले वास्ता नगरेको देख्छु,कुटाइ खाएर विद्यालय आएको देख्छु । त्यस्तो हेरिरहँदा मलाई साह्रै पिडा हुन्छ ।

कम्तीमा पनि आफ्ना सन्तानलाई त माया गर्नु । यदि हेर्नु नै थिएन भने किन त्यसरी जन्माएर पिडा दिनु भन्ने लाग्छ। खैर जुनसुकै कुरा पनि शिक्षासँग सम्बन्धित हुँदा,यसमा जीवन समर्पित गर्ने चाहना मैले पढाउँदै गर्दा के कुराको बोध भयो भन्दा हरेक विद्यार्थीमा केही न केही गर्नुपर्छ भन्ने भावना पाएँ ।

उनीहरूमा सिक्ने चाहना छ,खुबी पनि छ। त्यो भावना जगाउने काम भनेको शिक्षकको हो । त्योअनुसार गाइड गरेमा त्यो विद्यार्थीले चमत्कार गर्न सक्छ भन्ने पनि बोध भयो । मैले सर्ट फिल्महरू पनि बनाए। त्यसमा कहिले पनि अभिनय नगरेका विद्यार्थीले कस्तो राम्रो अभिनय गरेका थिए । यसबाट पनि थाहा हुन्छ कि हाम्रा विद्यार्थीमा सिक्न सक्ने चाहना कत्ति रहेछ भन्ने कुरा ।

सिन्धुपाल्चोक र डोल्पामा पढाउँदै गर्दा म स्वयमले धेरै कुरा गर्न बाँकी छ भन्ने लाग्यो। ती कुराहरू गर्न सम्भव छ भन्ने पनि लाग्यो । आफ्नो कामबाट अरूले पनि सिक्दो रहेछ,प्रेरणा लिँदा रहेछ भन्ने लाग्यो । अझै राम्रो काम गर्दै जानुपर्ने रहेछ भन्ने पनि बोध भयो।  हामीलाई राम्रो शिक्षकको  आवश्यकता छ। नेपालभर राम्रो शिक्षक र केही न केही अर्थपूर्ण काम गर्ने हुटहुटी भएका मनिसले चाँडै नै परिवर्तन ल्याउन सक्छन् भन्ने कुराको पनि बोध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *