विद्युत् प्रसारण सञ्जाल सुधार गर्न एडिबीले थप ७ अर्ब ऋण दिने

काठमाडौँ । एसियाली विकास बैंक(एडिबी)ले नेपालको राष्ट्रिय विद्युत प्रसारण सञ्जाल सुधार र आधुनिकीकरणका लागि थप ७ अर्ब ८ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका छन् ।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ । थप सहयोगका लागि आज सम्झौता भएको हो । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म र काठमाडौंको चोभारदेखि ललितपुरको लगनखेलसम्म कुल १६ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा ४७७ मेगाभोल्ट–एम्पिएरको सबस्टेशन समेत अत्याधुनिक रुपमा निर्माण गरिने बताइएको छ ।

त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युत्को माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युत्को प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए ।

नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडिबीले नै ऋण सहायता उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *