गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार

सिन्धुपाल्चोक । केन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

अध्यक्ष लामा भन्छन्, “स्थानीय परिवेशको सुक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पु-याउँछ ।” कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी यही शैक्षिकसत्रबाट लागू गरिसकेको शिक्षा शाखाका प्रमुख कमला खनालले जानकारी दिए ।

विद्यालय निरीक्षक उत्तममणि पौडेलका अनुसार कक्षा १ को पाठ्यपुस्तक पठनपाठन सुरु भएको, २ र ३ को प्रेसमा गएको साथै अन्य कक्षाको पनि छिट्टै तयार हुने छ । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप २०७६ ले व्यवस्था गरेबमोजिम स्थानीय जनशक्तिको उपयोग गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो ।

पाठ्यक्रममा गाउँपालिकाको परिचय, प्राकृतिक स्रोत र सम्पदा, संस्कार तथा संस्कृति, ऐतिहासिकस्थल र पर्यटन, पेशा व्यवसाय तथा प्रविधि, परम्परागत ज्ञान, सीप र कला, प्रकोप र वातावरण संरक्षण, स्वास्थ्य र सरसफाइका साथै स्थानीय भाषा तथा लिपि समेटिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

स्थानीय पाठ्यपुस्तकमा स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो तथा शेर्पा भाषालाई समेटिएको छ । भाषा, धर्म, वेशभूषा, प्रेरक व्यक्तिको जीवनी, खानी, जडीबुटी, बोटबिरुवाबारे जानकारीका साथै संरक्षण र संवर्द्धन, स्थानीय बाजाबारे जानकारी, वातावरण संरक्षणका उपाय आदिबारे पाठ्यपुस्तकमा समावेश गरिएको विद्यालय निरीक्षण पौडेलले जानकारी दिए ।

जीवनीमा सातै महादेशका सबै अग्ला हिमाल आरोहण गरेकी विश्व साहसी समावेशी नेतृ माया गुरुङ, समाजसेवी मिङ्मार दोङ, सामुदायिक वनका अभियानकर्मी लक्ष्मण दोङको जीवनी राखिएको छ ।

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल

प्रेस सेन्टर नेपालको पाँचौँ जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङ्तान, सचिवमा सुन्दर शिरिष, सहसचिवमा अर्जुन शर्मा र सम्झना कार्की तथा कोषाध्यक्षमा निर्मल बस्नेत चयन भएका छन् ।

रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र वासुदेव गिरी चयन भएका छन् ।

अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधिमा छनोट गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धिप्रसाद आचार्य छनोट भएका छन् । अधिवेशनले सुरेश कसजुको संयोजकत्वमा जीवन श्रेष्ठ र रामकृष्ण थापा सदस्य रहेको सल्लाहकार समितिसमेत बनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *