जिल्ला सभापतिसहित तीन पदाधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित

धनगढी । नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरासहित जिल्ला कार्यसमितिका तीनजना पदाधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सोमबार भएको मतगणनाअनुसार  सभापति बोहरा, उपसभापति बन्धु राना र सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

बोहरा क्षेत्र नम्बर २ बाट, राना क्षेत्र नम्बर १ बाट र जोशी क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका प्रत्यासी थिए । तीनैजना रमेश लेखक निकट हुन् ।

बोहराको प्यानलका उम्मेदवारहरू संविधानसभा सदस्य बलदेव बोहरा, कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहरा, नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट पनि निर्वाचित हुन सकेनन् ।

पूर्वमन्त्री लेखकपक्षीय सभापति बोहरा महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ १० जनाका लागि भएको निर्वाचनमा ११औँ नम्बरमा परे । यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरू विजयी भएका छन् ।

बोहरा आसन्न जिल्ला अधिवेशनमा समेत जिल्ला सभापतिको उम्मेदवारका लागि चर्चामा थिए । महाधिवेशन प्रतिनिधिमै हारेपछि उनी अब जिल्ला सभापतिको उम्मेदवार हुन पाउने छैनन् ।

कांग्रेसको विधानमा जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *