जोखिम मोलेर छाङरू पुगेको टोलीले थाल्यो जनगणना

धनगढी । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङरु र तिंकरको जनगणनाका लागि जिल्ला सदरमुकाम खलङ्गाबाट हिँडेको टोली जोखिमपूर्ण यात्रा गर्दै छाङरु पुगेको छ ।

शुक्रबार खलङ्गाबाट गएको टोली तीन दिनको जोखिमपूर्ण यात्रा गर्दै सोमबार मध्यान्ह १२ बजे छाङरु पुगेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए । छाङरु पुगेर टोलीले जनगणनाको काम पनि सुरु गरिसकेको जनगणना अधिकृत पाण्डेले जानकारी दिए ।

उनका अनुसार छाङरु र तिंकर दुवै गाउँको जनगणना गर्न तीन दिनसम्म लाग्नेछ । दुई गाउँबीचको दुई घण्टाको पैदल यात्रामा पर्छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ बाहेक जिल्लाका अरू वडाहरूको जनगणना कार्य करिब अन्तिम चरणमा पुगिसकेको जनगणना अधिकृत पाण्डेको भनाइ छ ।

स्थानीय बेसी झर्दा अर्को चुनौती

जनगणनाका लागि छाङरु र तिंकरका लागि गएको टोलीलाई त्यहाँ अर्को चुनौती थपिएको छ । तिंकरका बासिन्दा चिसो छल्न बेसी झरेपछि जनगणनामा चुनौती थपिएको जनगणना अधिकृत पाण्डेले बताए । उनले बेसी झरेकाहरूको जनगणना खलङ्गामै गर्नुपर्ने अवस्था आएको बताए ।

‘तिंकरका केही बासिन्दा चिसो छल्न बेसीतिर झरेको भन्नै खबर छ,’ उनले भने, ‘उनीहरूको गणना खलङ्गामै गर्नुपर्ने भयो ।’ उनले त्यस क्षेत्रका गणक खलङ्गामै रहेकाले उनीमार्फत बेसी झरेकाहरूको गणना गरिने बताए ।

शुक्रबार छाङरु र तिंकरका लागि गएका गणक राजेन्द्र कार्की हिँड्न नसकेपछि आधा बाटोबाटै खलङ्गा फर्किएका थिए । उनले नै तिंकरबाट बसी झरेका बासिन्दाको गणना गर्ने काम गर्नेछन् ।

फर्किन हेलिकप्टरको व्यवस्था गर्न माग

जनगणनका लागि जोखिम मोलेर तीन दिनको यात्रा गर्दै दार्चुला सदरमुकाम खलङ्गाबाट छाङरु र तिंकर पुगेको टोलीका लागि फर्किन हेलिकप्टरको व्यवस्था गरिदिन माग गरिएको छ ।

नेपालतर्फको बाटो असहज भएकाले गणकहरूलाई फर्किनका लागि हेलिकप्टरको व्यवस्था गरिदिन माग गरिएको जनगणना अधिकृत पाण्डेले बताए । उनले हेलिकप्टरका लागि विभागसँग समन्वय भइरहेको बताए । बाटो सुरक्षित नहुँदा ब्यासको वडा नम्बर १ छाङरु र तिंकरका बासिन्दा भारतीय बाटो हुँदै सदरमुकाम खलङ्गा आवतजावत गर्छन् ।

तर भारतले स्थानीयलाई आवतजावतका लागि अनुमति दिइरहेको भएपनि गणकलाई पनि भारतीय बाटो हुँदा त्यहाँ जान दिएन । नेपाली प्रशासनले पटक–पटक भारतीय प्रशासनसँग अनुमति मागे पनि सुनुवाइ गरेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *