एमाले केन्द्रीय पदाधिकारीमा गण्डकीबाट चार जनाको दाबी

पोखरा । संघारमा रहेको नेकपा एमालेको दशौँ महाधिवेशनबाट गण्डकीले बहुपदमा दावी गरेको छ । महासचिव, उपाध्यक्षदेखि सचिवसम्मका पदमा गण्डकीको दावी छ । हाल केन्द्रीय कमिटी सचिव रहेका पूर्वमुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ महासचिवको दावी गरिरहेका छन् । ‘सचिवमा काम गरिसकेँ । चुनाव भयो भनेपनि जित्न गाह्रो छैन । मेरो दावा महासचिवमा हो,’ उनले भने, ‘सर्वसम्मत हुने अवस्था आयो भने सचिवभन्दा माथिका पदमा मिल्न सकिन्छ ।’

महासचिव नपाए उपाध्यक्ष वा उपमहासचिवमा चित्त बुझाउने उनको तयारी देखिन्छ । प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले गण्डकी ईन्चार्ज किरण गुरुङ गएको महाधिवेशनमा उपाध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका हुन् । उनी अहिले पनि कम्तीमा उपाध्यक्ष पद पाउने आशमा छन् ।

‘पार्टीभित्र म सिनियर नेता हो । अघिल्लो कार्यकाल उपाध्यक्षमा पराजित भएँ । अहिले कम्तीमा उपाध्यक्ष पाउने आश छ,’ उनले भने, ‘नेताहरूसँग कुरा गरेको छु । सहमतिमा टीम बन्यो भने सचिवसम्म रहँदा हुन्छ ।’ यहीँबाट सचिवमा उठ्ने तयारी गरिरहेका छन्, अर्का नेता खगराज अधिकारी ।

१५ पदाधिकारी रहेको एमालेमा अध्यक्ष छाडेर ७ प्रदेशलाई बराबर भाग लगाउनुपर्ने यहाँका नेताहरूको माग छ ।

सबैले सल्लाहमै उम्मेदवारी दिने उनीहरूले बताए । ‘गण्डकीबाट एकअर्काको प्रतिस्पर्धी भएर उभिने सम्भावना छैन । हामी मिलेरै अघि बढ्छौँ,’ गुरुङले थपे, ‘एउटामात्रै पद भएको ठाउँमा धेरै उठ्दैनन् । सचिव वा उपाध्यक्षमा धेरै उम्मेदवारी पर्न सक्छ ।’

अधिकारीमात्रै होइन, स्याङ्जाकी नेतृ पद्मा अर्यालले पनि पदाधिकारीका लागि दावी गरेकी छन् । उनी समावेशीतर्फबाट सचिव बन्ने धेरैको आकलन छ । केपी ओली प्रधानमन्त्री हुँदा उनको क्याबिनेटमा परेकी पद्मा‚ ओलीको नजरमा सफल मन्त्री हुन् । त्यसैले उनले पदाधिकारी पाउन सक्ने सम्भावना प्रवल छ ।

ओली क्याबिनेटमै रहेका अर्का नेता जगत विश्वकर्मासमेत पदाधिकारीको दौडमा छन् । उनले समेत सचिव ताकेका छन् । तर श्रोतका अनुसार उनी अन्तिममा स्थायी कमिटीमा बार्गेनिङ गरेर पदाधिकारीबाट पछि हट्न सक्ने बुझिएको छ । एमालेले पदाधिकारीमा छविलाल विश्वकर्मालाई अघि सार्न सक्छ ।

माओवादीबाट एमाले बनेका र माधव नेपाल समूहबाट छुटेर एमालेमै रहेकाहरू भने सकेसम्म सर्वसम्मत रुपमा कमिटी घोषणा गर्नुपर्ने लाइनमा छन् भने एमालेहरू चाहिँ मतदान हुँदा समेत प्रतिस्पर्धाका लागि तयार देखिएका छन् ।

सचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशका सबै जिल्लाबाट कम्तीमा एक जना महिला केन्द्रीय सदस्य बनाउने, अहिले भइरहेका केन्द्रीय सदस्य कायम राख्ने र केही नयाँ सदस्यहरू थप्ने योजना सुनाएका छन् । ‘नयाँलाई अघि बढाउनुपर्नेछ । भइरहेका सदस्यहरूलाई बाहिर बस भन्न सक्ने अवस्था छैन र त्यो भन्न पनि हुँदैन,’ उनले भने, ‘पदाधिकारीमा ४ जना उस्ताउस्तै छन् । तँ आइज, तँ नआइज भन्ने ठाउँ छैन । सबै पदमा सर्वसम्मत हुन्छ भन्ने पनि हुँदैन ।’ अहिले गण्डकीबाट ८ जनाभन्दा बढी नयाँ केन्द्रीय सदस्यका लागि लबिङमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *