योगगुरु रामदेवलाई पर्यटन दूत बन्न मन्त्री आलेको आग्रह

काठमाडौँ । नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूतको रुपमा अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा आज (आइतबार) राष्ट्रदेव पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले भारतीय योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदूत बन्न आग्रह गरेका हुन् ।

मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अद्वितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताए । उनले भने, ‘नेपाल सरकारको पर्यटन दूत बन्न गरिएको आग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्नेछु, दूत हुन पाउनु मेरो गौरवको विषय हो ।’ उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई राष्ट्रदेव पशुपतिनाथको दर्शनसमेत गराएका थिए ।

उक्त योग शिविरमा पूर्वअर्थराज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकहरूको उपस्थिति रहेको थियो । योग शिविरपश्चात योगगुरु रामदेवतथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गरेका छन् ।

योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *